दिगो विकास लक्ष्य प्राप्तिका लागि धनकुटा नगरद्वारा छलफल

नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार नगरमा रोजगारी सिर्जना, आर्थिक स्रोतको अभाव, बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा असमानता दिगो विकास लक्ष्य प्राप्तिका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

जेष्ठ १३, २०८३

विनोद घिमिरे

Dhankuta Municipality holds discussion to achieve Sustainable Development Goals

What you should know

धनकुटा — धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गतका सूचक प्राप्तिका लागि सरोकारवालासँग छलफल सुरु गरेको छ ।

नगरपालिकाले दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । आधारभूत तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना, चुनौती र सम्भावनाका विषयमा छलफल तथा सुझाव सङ्कलन गरिएको हो ।

नगरपालिकाका अनुसार गर्भवती, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर शून्यमा झारिएको छ । खोपको पहुँच शतप्रतिशत पुगेको तथा ९९ दशमलव ७४ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराउने गरेका छन् । त्यसैगरी ९२ प्रतिशत उपभोक्ताले धाराको पानी प्रयोग गर्दै आएका छन् भने ८४ प्रतिशत नागरिक सुरक्षित शौचालयको पहुँचमा रहेका छन् ।

यद्यपि नगरपालिकामा अझै ११ दशमलव ३ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार रोजगारी सिर्जना, आर्थिक स्रोतको अभाव, बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा असमानता दिगो विकास लक्ष्य प्राप्तिका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ मा दिगो विकास लक्ष्य घोषणा गरेको थियो । विश्वभर गरिबी अन्त्य, गुणस्तरीय शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, स्वच्छ पानी, वातावरण संरक्षण र समृद्ध समाज निर्माणका लागि १७ वटा लक्ष्य तय गरिएका छन् । नेपाल सरकारले पनि संघ, प्रदेश र स्थानीय तहमार्फत सोही अवधारणाअनुसार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २०३० भित्र यी लक्ष्य हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेकाले स्थानीय तहहरूले तथ्यमा आधारित योजना निर्माण, प्रभावकारी बजेट व्यवस्थापन तथा समुदायको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् । अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी सोहीअनुसार योजना बनाएर कार्यान्वयनमा अघि बढाइने नगरपालिकाले जनाएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully