चुनढुंगा ढुवानीका लागि प्रयोग हुने टिपर-ट्रकको अत्यधिक सञ्चालनले स्थानीय सडक जीर्ण र जोखिमपूर्ण बन्दै गएको भन्दै बैजनाथ टोल विकास संस्थासहित स्थानीयले गाउँपालिकामा ज्ञापन-पत्र बुझाएका हुन् ।
What you should know
उदयपुर — कसमस सिमेन्ट उद्योगको खानी क्षेत्रबाट हुने चुनढुंगा ढुवानीका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको भन्दै उदयपुरगढी गाउँपालिका–८ स्थित बैजनाथ टोल क्षेत्रका स्थानीयवासीले स्थायी समाधानको माग गरेका छन् ।
चुनढुंगा ढुवानीका लागि प्रयोग हुने टिपर र ट्रकको अत्यधिक सञ्चालनले स्थानीय सडक जीर्ण र जोखिमपूर्ण बन्दै गएको भन्दै बैजनाथ टोल विकास संस्थासहित स्थानीयले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । चुनढुंगा ढुवानीका कारण वर्षायाममा सडक हिलाम्मे र खाल्डाखुल्डी हुने तथा सुक्खा मौसममा अत्यधिक धूलो उड्ने समस्याले जनजीवन कष्टकर बनेको उनीहरूले बताएका छन् ।
वर्षाको पानीसँगै खानीजन्य कच्चा पदार्थ बगेर खेतबारीमा थुप्रिने गरेकाले कृषि उत्पादन घट्दै गएको तथा दीर्घकालीन रूपमा स्थानीय कृषि प्रणाली कमजोर बन्ने खतरा बढेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । स्थानीय मीना राउतका अनुसार सडकको अवस्था बिग्रँदै जाँदा स्थानीय बासिन्दा, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई दैनिक आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भइरहेको छ ।
समस्या समाधानका लागि उद्योग पक्षसँग वार्ता नभए अनिश्चितकालीन सडक बन्द गर्ने निर्णयसमेत भएको संस्थाकी अध्यक्ष शर्मिला तामाङले बताइन् । ‘ढुंगा ढुवानीका क्रममा ओभरलोड भएर सामग्री यत्रतत्र सडकमा झर्ने समस्या छ, सडक मर्मत गर्दा सोही चुनढुंगाका कारण खेतीयोग्य जमिनको उत्पादनमा समेत प्रत्यक्ष असर परिरहेको छ,’ उनले भनिन् ।
स्थानीय रमा मगरका अनुसार बस्तीको बीचबाट ढुवानी मार्ग सञ्चालन हुँदा अत्यधिक कम्पन तथा ध्वनि प्रदूषणका कारण सडक आसपासका घरसमेत जोखिममा परेका छन् । समस्याको स्थायी समाधानका लागि छलफल गर्न स्थानीय, सरोकारवाला पक्ष र उद्योग प्रतिनिधिलाई बोलाए पनि उद्योग पक्ष बैठकमै नआएको उनले बताइन् । पाँच दिनभित्र उद्योगको आधिकारिक प्रतिनिधिसँग वार्ता गराउने मौखिक सहमति उद्योगका स्थानीय कर्मचारीले जनाए पनि तोकिएको समयमाभित्र कुनै जानकारी नआएको स्थानीयवासीले आरोप लगाएका छन् ।
तत्काल उद्योग पक्ष, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय समुदायको संयुक्त उपस्थितिमा बैठक आयोजना गरी समस्याको स्थायी समाधानका लागि आवश्यक पहल गर्न संस्थाले गाउँपालिकासमक्ष आग्रह गरेको छ ।
उदयपुरगढी गाउँपालिका– ४ को सरुने पाखा र जल्केनी पाखालगायतका गाउँ तथा जंगल क्षेत्रबाट कसमस सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्दै आएको छ । चुनढुंगा बोकेका टिपर उदयपुरगढी गाउँपालिका– ८ को बैजनाथ खोलाको बाटो हुँदै मानव बस्तीबीचबाट मदन भण्डारी लोकमार्गसम्म पुग्ने गर्छन् । टिपरको अत्यधिक भार र ढुंगाका स–साना कण सडकमा पोखिने गरेकाले दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ ।
