खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
What you should know
संखुवासभा — जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमानजिक किमाथांकासम्म सडक सञ्जाल जोडिएको छ । उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक तयार भएको उत्तर–दक्षिण कोशी सडक योजनाले जनाएको छ । हाल खाँदबारीसम्म २ सय किलोमिटर कालोपत्र सडक सञ्चालनमा छ ।
खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ । नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोंगप्पासम्म सडक निर्माण गरेको थियो । २८ वैशाखमा सेनाले उक्त सडक योजनालाई हस्तान्तरण गरेको थियो । प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा सडकको कुल लम्बाइ १० दशमलव ८१ किलोमिटर कायम भएको छ ।
सडक हस्तान्तरण भएको तीन दिनपछि १ जेठमा खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका हुन् । भोटखोलाको च्याम्ताङदेखि घोंगप्पाको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाादबारीबाट हिाडेको सवारी पहिलो पटक किमाथांका गाउा पुगेको हो । पहिलो पटक गाउँसम्म ट्याक्टर पुगेपछि स्थानीय उत्साहित बनेका छन् । ट्याक्टर चालक, एक्स्काभेटर चालक तथा किमाथांका सडक अभियानसँग सम्बन्धित टोलीलाई स्थानीयले भव्य स्वागत गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेले बताए । वर्षौंदेखिको सडक सपना पूरा हुँदा स्थानीयले खुसीयाली मनाएका छन् ।
वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो छ । उक्त क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम जारी रहेको छ । वर्षायाममा पहिरो, भीर तथा कठिन भूगोलका कारण सडक सञ्चालन चुनौतीपूर्ण बन्ने भए पनि स्तरोन्नति गर्ने योजनाको लक्ष्य रहेको गुरुङले बताए । ‘सडक निर्माण सम्पन्न भएसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरेका छौं,’ गाउँपालिका अध्यक्ष भोटेले भने, ‘स्थानीय उत्पादनले बजार पाउने, दैनिक उपभोग्य वस्तु ढुवानी सहज हुने तथा स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हुने विश्वास लिएको छु ।’ सडक संचालनले आपत्कालीन सेवामा समेत सहजता आउने स्थानीयको अपेक्षा छ ।
चीन सीमासँग जोडिएको किमाथांका क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना खुल्ने अध्यक्ष भोटेले बताए । कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्त्वको मार्गका रूपमा हेरिएको उनले बताए । ‘दशकौंदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथांका अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ । बल्ल गाउँमा विकास आइपुगेको स्थानीयलाई अनुभूति भएको छ,’ उनले भने ।
