जौटार सामुदायिक वन जडीबुटीको जिन बैंक बन्दै

हरियालीले ढाकिएको वनभित्र अहिले पदमचाल, चिराइतो, तेजपात, पाखनवेद, माजितो, लेमनग्रास, वनलसुन, ठूलो ओखती, सुगन्धित, बोकेटिमुर, लोधसल्ला र पहेँलो लहरा लगायतका बहुमूल्य जडीबुटी तथा औषधीय वनस्पति संरक्षण र विस्तारको काम भइरहेको छ ।

जेष्ठ ११, २०८३

विनोद घिमिरे

Jautar Community Forest becomes a gene bank for herbs

What you should know

धनकुटा — पाख्रीबास नगरपालिका–३ स्थित जौटार सामुदायिक वन पछिल्लो समय जडीबुटी संरक्षण, जैविक विविधता प्रवर्द्धन र पर्यापर्यटनको नयाँ केन्द्रका रूपमा विकास हुँदै गएको छ।

वनभोज र प्राकृतिक सौन्दर्यका लागि परिचित यो वन अब औषधीय गुण भएका वनस्पतिको ‘जिन बैंक’ तथा इको–जोनका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको जौटार सामुदायिक वनका अध्यक्ष वीरबहादुर तितुङले बताए।

हरियालीले ढाकिएको वनभित्र अहिले पदमचाल, चिराइतो, तेजपात, पाखनवेद, माजितो, लेमनग्रास, वनलसुन, ठूलो ओखती, सुगन्धित, बोकेटिमुर, लोधसल्ला र पहेँलो लहरा लगायतका बहुमूल्य जडीबुटी तथा औषधीय वनस्पति संरक्षण र विस्तारको काम भइरहेको तितुङको भनाइ छ । यी वनस्पति स्थानीय उपचार पद्धतिदेखि आधुनिक औषधि उद्योगसम्म उपयोगी मानिन्छन्।

जौटार सामुदायिक वन उपभोक्ता समूहले वनको ‘ब्लक नम्बर–२’ लाई विशेष जडीबुटी संरक्षण क्षेत्र घोषणा गरेको छ। सो क्षेत्रमा घाँस–दाउरा संकलन, जडीबुटी टिप्ने वा वनस्पतिलाई असर पुग्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ। संरक्षणलाई प्राथमिकता दिँदै वन व्यवस्थापन समितिले दुर्लभ र लोपोन्मुख वनस्पतिको दीर्घकालीन संरक्षणमा ध्यान केन्द्रित गरेको उनले बताए।

सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तितुङका अनुसार वन क्षेत्रलाई केवल हरियाली संरक्षणमा सीमित नराखी अध्ययन, अनुसन्धान, जैविक विविधता अवलोकन र पर्यापर्यटनको नमुना केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको छ। 'हामी यो क्षेत्रलाई इको–जोनका रूपमा विकास गर्दैछौँ। यहाँ आउनेले जडीबुटी चिन्न, तिनको उपयोगिता बुझ्न र प्राकृतिक वातावरणको आनन्द लिन सकून् भन्ने उद्देश्य छ,' उनले भने।Jautar Community Forest becomes a gene bank for herbs

वनभित्र औषधीय वनस्पति संरक्षणसँगै गुणस्तरीय बीउ उत्पादनको काम पनि भइरहेको छ। करिब साढे दुई हेक्टर क्षेत्रफलमा पटुला सल्ला प्रजातिको वृक्षारोपण गरी बीउ उत्पादन परियोजना सञ्चालन गरिएको छ। वन तथा वातावरण मन्त्रालयले २०७९ सालदेखि उक्त क्षेत्रलाई अनुसन्धान तथा बीउ उत्पादन प्रयोजनका लागि प्रयोग गर्दै आएको छ।

व्यवस्थित व्यवस्थापनका लागि वन क्षेत्रलाई विभिन्न भागमा विभाजन गरिएको छ। संरक्षण पोखरी, खेलमैदान, सामुदायिक भवन क्षेत्र, नमूना परीक्षण क्षेत्र, माजितो रोपण क्षेत्र, अम्लिसो खेती क्षेत्र र चिराइतो संरक्षण क्षेत्र छुट्याइएका छन्। यसले वन व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै अध्ययन–अवलोकनका लागि पुग्ने आगन्तुकलाई पनि सहज बनाएको छ।

वन क्षेत्रलाई जडीबुटी संरक्षणस्थल मात्र नभई आकर्षक वनभोज गन्तव्यका रूपमा समेत विकास गरिँदै छ। सामुदायिक भवन, विश्रामस्थल, खाना पकाउने स्थान, पदमार्ग तथा दृश्यावलोकन केन्द्र निर्माण गर्ने योजना अघि बढाइएको छ। वनभित्र जडीबुटीको परिचय, उपयोगिता र संरक्षण अवस्थाबारे जानकारी दिने सूचना बोर्ड राख्ने तयारी पनि छ, जसले यसलाई ‘खुला प्राकृतिक संग्रहालय’को रूप दिने अपेक्षा गरिएको छ।Jautar Community Forest becomes a gene bank for herbs

धनकुटा नगरपालिका–१ को हिले बजारबाट करिब तीन किलोमिटर दूरीमा रहेको यो वनमा दिनहुँजसो कर्मचारी, विद्यार्थी, वन उपभोक्ता र सर्वसाधारण अध्ययन भ्रमण तथा वनभोजका लागि पुग्ने गरेका छन्। वन प्रयोगकर्ताका विभिन्न समूहका लागि छुट्टाछुट्टै शुल्कसमेत निर्धारण गरिएको छ, जसबाट संकलित रकम वन संरक्षण र पूर्वाधार विकासमा खर्च गरिन्छ।

स्थानीयवासी तथा आगन्तुक भने अझै केही पूर्वाधार सुधारको आवश्यकता रहेको बताउँछन्। धनकुटाका राजेश्वरबहादुर श्रेष्ठका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने भएकाले यातायात पहुँच सहज बनाउनुपर्छ। 'सडक, खानेपानी र विश्रामस्थलको व्यवस्थापन अझ राम्रो बनाउन सके यो क्षेत्र जिल्लाकै उत्कृष्ट पर्यापर्यटन गन्तव्य बन्न सक्छ,' उनले भने। उनका अनुसार जडीबुटी जिन बैंक क्षेत्रमा प्रत्येक वनस्पतिको नाम, उपयोगिता र विशेषता उल्लेख गरिएका सूचना बोर्ड राख्न सके शैक्षिक भ्रमणका लागि समेत थप उपयोगी हुनेछ।

नेपालमा पाइने धेरै औषधीय वनस्पति अनियन्त्रित संकलन, वन विनाश र जलवायु परिवर्तनका कारण जोखिममा पर्दै गएका छन्। यस्तो अवस्थामा सामुदायिक तहबाट जडीबुटी संरक्षण र जिन बैंक निर्माणको प्रयासले जैविक विविधता जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताए।

प्राकृतिक सम्पदा, दुर्लभ जडीबुटी, शान्त वातावरण र पर्यापर्यटनको सम्भावनालाई एकै ठाउँमा समेटेको जौटार सामुदायिक वन अब केवल वनभोजस्थल मात्र नभई संरक्षण र पर्यटनलाई जोड्ने नमुना इको–जोनका रूपमा विकास गर्दै जाने गुरुङको भनाइ छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully