नेपालबाट भारत निर्यात हुने चियामा अवरोध सिर्जना गरेको भारतको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अन्ततः संशोधन भएको छ।
What you should know
विराटनगर — नेपालबाट भारत निर्यात हुने चियामा अवरोध सिर्जना गरेको भारतको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अन्ततः संशोधन भएको छ।
भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय टी बोर्डले आयातित चियामाथि लागू गरिएको अनिवार्य परीक्षण व्यवस्था खुकुलो बनाएको हो।
टी बोर्डले मंगलबार जारी गरेको सूचनाअनुसार भारतमा घरेलु बिक्रीका लागि भित्रिने चियालाई तत्कालका लागि अनिवार्य प्रयोगशाला परीक्षणबाट छुट दिइएको छ। यससँगै दुई सातादेखि लगभग ठप्प बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा गरिएको छ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय पक्षले नियम संशोधन गरेपछि अब पहिलेझैं चिया निर्यात सहज हुने बताए। 'नयाँ व्यवस्था लागू भएसँगै सीमामा रोकिएका चिया पुनः भारत पठाउन उद्योगी तयारीमा जुटेका छन्', उनले भने।
भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार नेपालबाट जाने हरेक चिया ‘कन्साइनमेन्ट’को नमूना संकलन गरी कोलकातास्थित प्रयोगशालामा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो। परीक्षण रिपोर्ट नआएसम्म गाडी रोकिनुपर्ने, उच्च शुल्क तिर्नुपर्ने र लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाले उद्योगी, निर्यातकर्ता र किसानहरू संकटमा परेका थिए।
झापाबाट पानीट्यांकी नाका हुँदै पठाइएको एउटा चियाको गाडी १४ दिनसम्म भारतीय पक्षमै रोकिएको उदाहरण उद्योगीहरूले दिएका छन्। चार दिनपछि मात्रै नमूना संकलन गरिएको उक्त चियाको प्रयोगशाला रिपोर्ट १० दिन बित्दासमेत नआएको उनीहरूको गुनासो छ।
नयाँ संशोधनअनुसार अब भारतमै बिक्री हुने चियामा अनिवार्य परीक्षण लागू नहुने भए पनि पुनः निर्यात गरिने चियामा भने परीक्षण अनिवार्य रहनेछ। साथै, टी बोर्डले ‘र्यान्डम’ परीक्षण गर्न सक्ने व्यवस्था भने यथावत राखेको छ।
चिया उद्यमी उदय चापागाईँका अनुसार नेपालबाट भारत जाने अधिकांश चिया भारतीय घरेलु बजारकै लागि हुने भएकाले यो निर्णयले सीमामा हुने ढिलासुस्ती घट्ने, लागत कम हुने र निर्यात प्रक्रिया पुनः सामान्य बन्ने छ।
भारतीय टी बोर्डका पश्चिम बंगालस्थित कर्मचारीहरूले केही दिनअघि भारतीय व्यापारीलाई नेपालबाट चिया नकिन्न चेतावनी दिएका थिए। नेपालबाट चिया आयात गरेको पाइए गोदाममै पुगेर नमूना संकलन गर्ने संकेतसमेत दिइएको थियो। त्यसपछि नेपाली उद्योगीहरू थप त्रसित बनेका थिए।
यसबीच दिल्लीस्थित नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो।
नेपालमा हाल साना–ठूला गरी करिब १२० चिया उद्योग सञ्चालनमा छन् भने १०० भन्दा बढी साना तथा मझौला उद्यमी यस क्षेत्रमा सक्रिय छन्। चिया क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्।
