आइतबार पनि कार्यालय सञ्चालन गर्ने रोङ गाउँपालिकाको निर्णय

जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि सामुदायिक विद्यालयबाहेक अन्य कार्यालय पुरानै समयतालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।

जेष्ठ ५, २०८३

पर्वत पोर्तेल

Rong Rural Municipality decides to operate office on Sundays as well

विराटनगर — इलामको रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने योजनाको चाप र समय अभावलाई मध्यनजर गर्दै पुरानै समयतालिकाअनुसार कार्यालय संचालन गरिने भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले जनाए। 

संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्नेलगायतका लक्ष्य राखेर कर्मचारीलाई दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि बिहान ९ देखि ५ बजेसम्म कार्यालय संचालन हुँदै आएको छ। 

तर, प्रविधिमैत्री सेवा प्रवाह र सेवाग्राहीको पहुँच अझै प्रभावकारी बन्न नसकेको, साथै भौगोलिक अवस्थाका कारण सेवाग्राही बिहान ९ बजेअघि कार्यालयमा उपस्थित नहुने अवस्था देखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नयाँ समयतालिका लागू भएयता रोङका कुनै पनि कार्यालयमा सेवाग्राही बिहान १० बजेअघि उपस्थित नभएको पाइएको छ ।

'यही कारण कार्य सम्पादनमा समस्या तथा चाप बढेको निष्कर्षसहित गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिका बैठकले जेठ ६ गतेदेखि सामुदायिक विद्यालयबाहेक अन्य कार्यालय पुरानै समयतालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो,' गाउँपालिका अध्यक्ष स्याङ्वोले भने, 'गाउँपालिकाले असार मसान्तपछि भने उक्त निर्णय पुनर्विचार गर्न सकिने सम्भावना छ ।'

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully