फोक्सिङटार र बङ्सिलाघाटको बेलिब्रिज हटाइएपछि खोटाङमा दैनिक उपभोग्य वस्तु ढुवानी, मूल्यवृद्धि र जीवनयापनमा ठूलो असर परेको छ।
What you should know
खोटाङ — फोक्सिङटार र बङ्सिलाघाटको अस्थायी बेलिब्रिज निकाल्न थालिएपछि खोटाङको पूर्वी तराईसँगको सीधा यातायात सम्बन्धविच्छेद भएको छ । फोक्सिङटारको बेलिब्रिज आइतबार र बङ्सिलाघाटको गत वैशाख २७ गतेदेखि निकाल्न थालिएपछि तराईसँगको सीधा यातायात सम्बन्ध पूर्णरूपमा विच्छेद भएको हो ।
सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको उक्त बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा आएको थियो । हरेक वर्षको हिउँदमा जडान गर्ने र बर्खा सुरू हुनासाथ निकाल्ने गरिन्छ । यस वर्षका लागि बेलिब्रिज जडान गर्न र निकाल्का लागि एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले ९६ लाख ७७ हजार ९ सय ३७ रूपैयाँमा ठेक्का लिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए ।
फोक्सिङटारको पुल अघिल्लो असोज १२ गते बाढीले बगाएको थियो । करिब १२ वर्ष लगाएर निर्माण गरिएको पुल एक वर्षमै बगाएको थियो । बेलिब्रिज राख्न र निकाल्नका लागि बर्सेनि लाखौं खर्च हुँदै आएको छ ।
त्यस्तै बङ्सिलाघाटस्थित सुनकोशीमा पानीमा बहाव बढ्न थालेपछि वैशाख २७ गतेबाट बेलिब्रिज निकाल्न थालिएको छ । उक्त बेलिब्रिज जडान र निकाल्नका लागि गुरूकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले ५७ लाख बजेटमा ठेक्का लिएको थियो । खोटाङको बराहपोखरी गाउापालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक बेलिब्रिज जडान गरिएको थियो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले १ करोड ८७ लाख बजेट विनियोजन गरी बेलिब्रिजको सामग्री खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो ।
बङ्शिलाघाटमा १९ करोड १८ लाख ४१ हजार ४ सय रूपैयाँको लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । उक्त कामको ठेक्का कालिका–वेदांसी जेभीले २०७९ मंसिर १ गते सम्झौता थियो । तर कामको गति भने सुस्त भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
तराईसँगको सीधा यातायात सम्वन्ध विच्छेद भएपछि उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीमा समस्या हुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । सीधा यातायात नभएपछि कटारी हुँदै घुमाउनु पर्ने र गाईघाट–दिक्तेल सडकबाट ल्याउँदा फोक्सिङटारस्थित झोलुङ्गे पुलबाट मान्छेलाई बोकाएर सामान तार्नु पर्ने, गाडीमा लोडअनलोड गर्दा टुटफुट, हराउने समस्या र पानीले भिज्नेलगायतका समस्या खेप्नु पर्ने अवस्था आएको आचार्यले सुनाए ।
यसका कारण प्रतिकेजी ३ देखि ५ रूपैयाँसम्म मूल्य बढ्नेसमेत आचार्यले जनाए । ‘खोटाङको समस्या फेरि बल्झिएको छ, सीधा यातायात नभएपछि फोक्सिङटारमा झोलुङ्गे पुलबाट मान्छेलाई बोकाएर सामान तार्नु पर्छ, गाडीमा लोडअनलोड गर्दा टुटफुट हुन्छ, हराउने समस्या र पानीले भिज्छ,’ यसले गर्दा प्रतिकेजी ३ देखि ५ रूपैयाँसम्म मूल्य बढ्ने देखिन्छ ।’
