बत्तिसे झरनामा ९३ मिटर लामो झोलुङ्गे पुल

पुल बनेपछि झरनाको दृश्यावलोकन, फोटो/भिडियो खिच्न र वन क्षेत्र अवलोकन गर्न आउनेको संख्या बढेको स्थानीयको भनाइ छ ।

जेष्ठ ३, २०८३

लक्ष्मी गौतम

93-meter-long suspension bridge at Battise Falls

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित बत्तिसे झरना क्षेत्रमा ९३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । झरनाको दृश्यावलोकन गर्ने सहज होस् भनेर कोशी प्रदेश सरकारले उक्त पुल निर्माण गरेको हो ।

कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत आर्थिक वर्ष २०८१/०८२ मा निर्मित झोलुङ्गे पुलको लागत ४८ लाख रुपैयाँ रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर मुकेशराज साहले जानकारी दिए ।

पुल बनेपछि झरनाको दृश्यावलोकन, फोटो/भिडियो खिच्न र वन क्षेत्र अवलोकन गर्न आउनेको संख्या बढेको स्थानीयको भनाइ छ । 

झरना हेर्न आउनेहरूका लागि सुरक्षित रुपमा दृश्यावलोकन गर्ने स्थल (भ्यूपोइण्ट)का रुपमा पुल निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष धनकुमार तामाङले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully