जहाँ मतदानबाट छानिन्छन् विद्यालयका 'क्याप्टेन'

३ देखि ११ कक्षाका विद्यार्थीको मतदानबाट बाघ र कार चुनाव चिन्ह लिएर उठेका सबिन हेम्व्या लिम्बू र रेखा लोकुच राई क्याप्टेन र सहक्याप्टेन निर्वाचित भएका छन् ।

जेष्ठ २, २०८३

आनन्द गौतम

Where school 'captains' are chosen by voting

What you should know

ताप्लेजुङ — पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङको कालिका माध्यमिक विद्यालय कक्षा १० का सबिन हेम्व्या लिम्बू र रेखा लोकुच राई एक वर्षका लागि कप्तान र सहकप्तान (क्याप्टेन र सहक्याप्टेन) निर्वाचित भएका छन्। 

सबिनले आफ्ना तीन प्रतिष्पर्धीलाई फराकिलो मतान्तरले हराएका हुन् । कालिका माविले चार वर्षयता हरेक शैक्षिक सत्रको सुरुआतमा कक्षाको मनिटर, सहमनिटर तथा विद्यालयको क्याप्टेन र सहक्याप्टेन निर्वाचनबाट चयन गर्दै आएको छ । चार वर्षयता कुनै वर्ष सर्वसम्मत चयन भएको छैन । 

विद्यालयको क्याप्टेन र सहक्याप्टेन छान्न ३ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी हुन्छन् । उम्मेदवार बन्न भने ८ कक्षा माथिकाले मात्र पाउँछन् । कक्षाको मनिटर र सहमनिटर सोही कक्षाका विद्यार्थी मात्रै सहभागी हुन्छन् । 
विद्यालयको क्याप्टेन र सहक्याप्टेनमा यस पटक दुवै जना कक्षा १० का विद्यार्थी निर्वाचित भएका हुन् ।

प्रधानाध्यापक चैतन्य खतिवडाका अनुसार उनीहरुले विद्यालयमा वर्षभरी गरिने सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्नुपर्ने छ । ‘हरेक दिन बिहान १० बजे प्रार्थनालाइन लगाउने जिम्मेवारी उनीहरुकै हुन्छ । लाइनमा क्विज प्रतियोगिता हुन्छ, त्यसको प्रश्न पनि उनीहरुले नै बनाउँछन्,’ उनले भने, ‘एउटा निश्चित विषयमा कम्तीमा तीन विद्यार्थीले अगाडि उभिएर प्रस्तुति दिनुपर्छ, त्यो छनौट पनि उनिहरुले नै गर्छन ।’ हरेक शुक्रबार अतिरिक्त क्रियाकलापको नेतृत्व गर्नेदेखि  सरस्वती पूजा, १० र १२ कक्षाका विद्यार्थीको विदाईलगायतका गतिविधि उनीहरुले नै सञ्चालन गर्नुपर्ने प्रअ खतिवडाले बताए । 

अर्का शिक्षक चेतनाथ खतिवडाका अनुसार क्याप्टेन र सहक्याप्टेनले कक्षाका मनिटर तथा सहमनिटरसँग समन्वय गरेर अतिरिक्त क्रियाकलापको जिम्मेवारी पूरा गर्छन् । ‘हामी पनि सँगसँगै हुन्छौं । सल्लाह सुझाव दिए पनि उनीहरुको काममा हस्तक्षेप गर्ने गर्दैनौं,’ चेतनाथले भने, ‘एक शैक्षिक सत्रमा के–के काम गर्ने भन्ने क्यालेण्डर पहिल्यै बन्ने भएकाले सहज ढंगले विद्यार्थीले नै गर्छन् ।’

विद्यार्थी बीच आपसमा कुनै विवाद भए पहिला कक्षामा मनिटरले मिलाउने त्यहाँ नमिले कप्तान, सहकप्तानले मिलाउने र त्यहाँ पनि नमिले विद्यालय प्रशासनमा पुग्ने गरी मिलाइएको छ । शिक्षक वा विद्यालयको अरु विषयमा कुनै गुनासो भए त्यही विधि अपनाइने चेतनाथले बताए । 

प्रअ खतिवडाका अनुसार कक्षा ९ र १० को सामाजिक विषयमा नेपालका राजनीतिक दल, निर्वाचन प्रक्रिया, मतदाता शिक्षालगायतका विषयमा पढाइ हुने गरेको छ । विद्यार्थीलाई प्रत्यक्ष रुपमा सहभागी गराएर निर्वाचन प्रक्रियाबारे सिकाउन यो अभ्यास गरिएको उनले बताए । ‘शैक्षिक सत्रको सुरुमै गरिने प्रयोगात्मक विधिमा उम्मेदवारलाई हरेक कक्षामा गएर मत माग्न लगाइन्छ ।  खरायो, बाघ, चरालगायतमा चुनाव चिन्ह दिने गरिएको छ,’ उनले भने । 

निर्वाचन अधिकृतको जिम्मेवारीमा प्रअ नै हुन्छन् । यसपटक सविनको बाघ र रेखाको कार चुनाव चिन्ह थियो । यसपटक १ सय ३८ जना विद्यार्थी मतदानमा सहभागी थिए । निर्वाचन अधिकृतको समेत जिम्मेवारीमा रहेका प्रअ खतिवडाका अनुसार कप्तानमा सदर १ सय ३१ मध्ये खरायो चुनाव चिन्हका सविनले १ सय १६ मत पाए । ब्याग चुनाव चिन्हका निकेश गुरागाईले ८ र मोटरसाइकल चुनाव चिन्हका युनिश पौडेलले ७ मत पाए । ७ मत बदर भएका थिए । सहकप्तानतर्फ १ सय ३२ मत सदर भएउका थिए । कार चुनाव चिन्हकी रेखाले ७९ मत प्राप्त गरिन् । बाघ चिन्हका लाजिमा गुरुङले ३८ मत प्राप्त गर्दा किताब चिन्हकी एलिना न्यौपानले १५ मत पाइन् । निर्वाचित भएका दुवै जनाले सबै साथीहरुको सल्लाह अनुसार निष्पक्ष भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully