एउटै अस्पतालको दुईपटक शिलान्यास

२०७७ मंसिर १५ मा शिलान्यास गरेको अस्पताल सामुदायिक वनको जग्गामा कानुनी प्रक्रिया नपुगेको भन्दै लामो समय रोकिएको थियो । जग्गा विवाद सुल्झिएपछि बुधबार वर्तमान पुन: शिलान्यास गरिएको हो ।

जेष्ठ १, २०८३

राकेश नेपाली

Foundation stone laid for the same hospital twice

What you should know

उदयपुर — बेलका नगरपालिका–६ बुद्धचौकमा निर्माणाधीन नगर अस्पतालको भवन ६ वर्षपछि फेरि शिलान्यास गरिएको छ।

२०७७ मंसिर १५ गते तत्कालीन मेयर दुर्गाकुमार थापाले शिलान्यास गरेको अस्पताल सामुदायिक वनको जग्गामा कानुनी प्रक्रिया नपुगेको भन्दै लामो समय रोकिएको थियो । जग्गा विवाद सुल्झिएपछि बुधबार वर्तमान मेयर अशोक कार्कीले पुन: शिलान्यास गरेका हुन् ।

तत्कालीन सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले देशभर एकैपटक ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको थियो । तर, बेलकामा भने सामुदायिक वनको जग्गामा कानुनी प्रक्रिया पूरा नगरी अस्पताल निर्माण गर्न लागिएको भन्दै जोगिनीपाखा सामुदायिक वनका अध्यक्ष तेजकुमार मगर र तत्कालीन मेयर थापाविरुद्ध वन तथा भू–संरक्षण विभागमा उजुरी परेको थियो । उजुरीपछि विभागले अस्पताल भवन निर्माणको काम तत्काल रोक्न आदेश दिएको थियो ।

नगरपालिकाले हाल आवश्यक कानुनी प्रक्रिया पूरा गरी साढे तीन बिघा जग्गा आधारभूत नगर अस्पतालको नाममा ल्याइसकेको जनाएको छ । त्यसपछि, १० शय्याको अस्पताल भवनको औपचारिक शिलान्यास गरिएको मेयर कार्कीले बताए ।

उनका अनुसार केएसएम सर्भिस प्रालि काठमाडौंसँग ७ करोड ९८ लाख २२ हजार रुपैयाँमा २०८३ वैशाख २१ मा निर्माणको सम्झौता भइसकेको छ । सम्झौताअनुसार एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर समन्वय गर्दै आवश्यक प्रक्रिया र प्राविधिक मापदण्ड पूरा गरेर निर्माण अघि बढाएका हौं,’ मेयर कार्कीले भने, ‘२०८४ वैशाख ३० मा उद्घाटन गर्ने लक्ष्यसहित काम अघि बढेको छ । अब बेलकावासीले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाउनेछन् ।’

यता, तत्कालीन मेयर थापाले भने अघिल्लो कार्यकालमा आफूले अस्पताल बनाउन खोज्दा विरोधदेखि मुद्दासम्मको सामना गर्नुपरेको भन्दै अहिले फेरि शिलान्यास गर्नु हास्यास्पद भएको बताए । ‘मेरो कार्यकालमा अस्पताल बनाउन खोज्दा उहााले (मेयर कार्कीले) विरोध मात्रै गर्नुभएन, मुद्दासमेत हाल्नुभयो,’ थापाले भने, ‘अहिले उद्घाटन गर्ने बेला फेरि शिलान्यास गरिएको छ ।’

स्थानीय हिराजंग राईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शिलान्यासमै यतिका वर्ष खेर फाल्नु दु:खद भएको टिप्पणी गरेका छन् । उनले नगरवासीले स्वास्थ्य सेवा पाउने विषयमा विरोध होइन, कानुनी र प्राविधिक अड्चन समाधानमा सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

नगर क्षेत्रमा सहज र सुलभ स्वास्थ्य सेवाको अभावमा सर्वसाधारण धरान, विराटनगरलगायतका सहरका अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् । नगर अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका नागरिकलाई आधारभूत उपचारका लागि राहत पुग्ने अपेक्षा गरिएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully