वन फडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको आरोप लगाउँदै निर्माण गतिविधि बन्द गरी सत्यतथ्य छानबिन गर्न माग
ताप्लेजुङ — पाथीभरा केवलकार निर्माणविरुद्ध 'नो केवलकार' समूहले फेरि आन्दोलन घोषणा गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै जनचेतना अभियानदेखि विरोध प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरिएको हो ।
मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिका तर्फबाट खगेन्द्र फेम्बु लिम्बूले ५ जेठमा राजनीतिक दलहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने, ७ जेठमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ९ जेठमा विभिन्न संघसंस्थासँग अन्तरक्रिया गर्ने, ११ जेठमा कालो झन्डासहित कोणसभा तथा प्रदर्शन गर्ने, १६ जेठमा फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र १७ जेठमा केवलकार निर्माण मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।
सरकारले प्रशासनलाई निर्माण रोक्न दिएको निर्देशनलाई बेवास्ता गर्दै काम निरन्तरता भइरहेको गुनासो छ ।
समितिले वन फडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको आरोप लगाउँदै निर्माण गतिविधि बन्द गरी सत्यतथ्य छानबिन गर्न माग गर्दै आएको छ ।
