यसअघि मालपोत कार्यालयमार्फत मात्रै उपलब्ध हुँदै आएको सेवा सोमबारदेखि नगरपालिकाबाटै सुरु गरिएको हो ।
धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालनमा ल्याएको छ। यसअघि मालपोत कार्यालयमार्फत मात्रै उपलब्ध हुँदै आएको सेवा सोमबारदेखि नगरपालिकाबाटै सुरु गरिएको हो ।
नगरपालिकाले भूमि प्रशासनसम्बन्धी छुट्टै शाखा स्थापना गरी सेवा सुरु गरेको हो। सेवा शुभारम्भ कार्यक्रममा नगरप्रमुख ज्ञानबहादुर गुरुङले अब पाख्रीबासमै जग्गा पासको काम सुरु भएको जानकारी दिए। उनका अनुसार आगामी साउनदेखि कित्ताकाट, नामसारीलगायत मालपोत सम्बन्धी अधिकांश सेवा नगरपालिकाबाटै उपलब्ध गराइनेछ।
हालसम्म सामान्य कामका लागि समेत जिल्ला सदरमुकाम वा मालपोत कार्यालय धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नगरप्रमुख गुरुङले स्थानीय तहबाट सेवा प्रवाह हुँदा समय, खर्च र झन्झट कम हुने बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले भूमि प्रशासन शाखामा आवश्यक जनशक्ति तथा प्राविधिक व्यवस्थापन मिलाएर सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगिने बताए ।
सेवा शुभारम्भको अवसरमा नगरपालिकाले पहिलो सेवाग्राही निर्मला श्रेष्ठ र कल्पना दवाडीलाई सम्मान समेत गरेको छ। स्थानीयवासीले आफ्नै पालिकाबाट भूमि सम्बन्धी सेवा पाउन थालेपछि खुसी व्यक्त गरेका छन्। नगरपालिकाबाट सेवा सुरु भएसँगै प्रशासनिक पहुँच बढ्नुका साथै ग्रामीण क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने नगरप्रमुख गुरुङले बताए ।
