कोशी प्रदेश सरकारको समानीकरण अनुदानअन्तर्गत प्राप्त बजेटबाट नगरपालिकाले ९ वटै वडाका ६२ जना किसानलाई तरकारी खेती, नर्सरी व्यवस्थापन तथा सिँचाइ सुविधाका लागि कृषि सामग्री उपलब्ध गराएको हो।
धनकुटा — कृषि उद्यम प्रवर्द्धन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत लागत साझेदारीमा टनेल र प्लास्टिक पोखरी वितरण गरेको छ।
कोशी प्रदेश सरकारको समानीकरण अनुदानअन्तर्गत प्राप्त बजेटबाट नगरपालिकाले ९ वटै वडाका ६२ जना किसानलाई तरकारी खेती, नर्सरी व्यवस्थापन तथा सिँचाइ सुविधाका लागि कृषि सामग्री उपलब्ध गराएको हो।
महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा, मारेक कटहरे, जितपुर, लेगुवा लगायतका किसानलाई कृषि सामग्री वितरण गरिएको हो। कृषि सामग्रीका लागि किसान र नगरपालिकाको पाँच लाख रुपैयाँ लगानी छ ।
किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने तथा उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको नगरप्रमुख ध्रुवराज रायमाझीले जानकारी दिए । वितरण गरिएका टनेलले बेमौसमी तरकारी उत्पादन र प्लास्टिक पोखरीमार्फत वर्षायामको पानी संकलन गरी सुख्खा समयमा सिँचाइ गर्न सहज हुने रायमाझीको भनाइ छ। वितरित कृषि सामग्रीले खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै किसानको उत्पादन लागत घटाउन मद्दत पुग्ने उनले जनाए।