धनकुटाको चौबिसेमा फक्रिँदै गुलाफ

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार गुलाफ खेती प्रवर्द्धनका लागि प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको आफ्नै लगानीमा कार्यक्रम सञ्चालन भइरहेको हो।

वैशाख २७, २०८३

विनोद घिमिरे

Roses blooming in Dhankuta's Chaubise

What you should know

धनकुटा — यहाँको चौबिसे गाउँपालिकाले गुलाफ खेतीलाई अभियानकै रूपमा अघि बढाएको छ। घरेलु सजावट, पर्यटकीय सौन्दर्य अभिवृद्धि तथा व्यावसायिक उत्पादन विस्तार गर्ने उद्देश्यसहित गाउँपालिकाले 'गुलाफ पार्क' कार्यक्रम सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाले मौसमअनुसार फूल्ने विभिन्न १८ प्रजातिका गुलाफ संकलन गरी नर्सरी स्थापना गरेको छ। नर्सरीमा अहिले रातो, पहेँलो, सेतो लगायत विभिन्न रङका गुलाफका विरुवा हुर्किरहेका छन्। यस वर्ष मात्रै करिब १० रोपनी क्षेत्रफलमा गुलाफ नर्सरी विस्तार गरिएको चौबीसे गाउँपालिकाका कृषि शाखा प्रमुख चित्रञ्जन यादवले जानकारी दिए।  

चौबीसे गाउँपालिकाको राजारानी, मुढेबास, सौरे तथा छनम्बर बुधबारे सीमसार क्षेत्र पर्यापर्यटन र प्राकृतिक सौन्दर्यका लागि परिचित छन्। ती क्षेत्रमा गुलाफ बगैंचा विस्तार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले फूल खेतीलाई कृषि मात्र नभई पर्यटनसँग जोडिएको सम्भावनायुक्त क्षेत्रका रूपमा अघि सारेको चौबीसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बु बताउँछन्। 

गाउँपालिकाका कृषि शाखा प्रमुख चित्रञ्जन यादवले प्रत्येक घरमा गुलाफ बगैंचा विस्तार गर्ने योजना रहेको बताए। उनका अनुसार आगन्तुक पाहुनाको स्वागत, घरआँगनको सौन्दर्य र वातावरण संरक्षणका लागि गुलाफ उपयोगी हुने भएकाले अभियानलाई जनस्तरसम्म पुर्‍याइँदैछ।

उनले गुलाफ खेतीबाट स्थानीय किसानलाई अतिरिक्त आम्दानीको अवसर सिर्जना गर्न सकिने बताए। 'गुलाफ फूलको माग विवाह, सभा–समारोह, होटल, धार्मिक कार्यक्रम र उपहार संस्कृतिसँग जोडिँदै गएको छ,' यादवले भने, 'यदि व्यावसायिक रूपमा उत्पादन गर्न सकियो भने किसानले राम्रो आम्दानी लिन सक्छन्।'

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार गुलाफ खेती प्रवर्द्धनका लागि प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको आफ्नै लगानीमा कार्यक्रम सञ्चालन भइरहेको हो। आधुनिक नर्सरी, प्राविधिक तालिम तथा बजार व्यवस्थापनमा समेत गाउँपालिकाले ध्यान दिइरहेको उनले बताए।

गाउँपालिका अध्यक्ष लिम्बूले धरान, विराटनगर लगायतका सहरमा गुलाफको ठूलो बजार रहेको उल्लेख गर्दै आगामी दिनमा व्यावसायिक उत्पादन विस्तार गरिने बताए। 'हामी नर्सरी र खेती दुवै विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनामा छौं,' उनले भने। उनका अनुसार नेपालमा सजावट र उपहारका लागि प्रयोग हुने पुष्पगुच्छा तथा विभिन्न फूलजन्य सामग्री ठूलो परिमाणमा बाहिरबाट आयात भइरहेको छ। चौबिसे गाउँपालिकाले स्थानीय स्तरमै गुलाफ उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ।

कृषि शाखा प्रमुख चित्ररञ्जन यादवका अनुसार गुलाफ खेती न्यून क्षेत्रफलमा पनि राम्रो आम्दानी दिने फूलमध्ये पर्छ। एक पटक व्यवस्थित रूपमा बगैंचा स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले किसानका लागि यो आकर्षक व्यवसाय बन्न सक्छ। गुलाफबाट नर्सरी, कट–फ्लावर, माला, पुष्पगुच्छा तथा सौन्दर्यजन्य उत्पादनसमेत तयार गर्न सकिने हुँदा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको यादवको भनाइ छ । 

चौबिसे गाउँपालिकाले गुलाफ खेतीलाई कृषि, पर्यटन र उद्यमशीलतासँग जोडेर ग्रामीण अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित अभियानलाई विस्तार गरिरहेको गाउँपालिका अध्यक्ष लिम्बु बताउँछन्।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully