प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ सम्म सञ्चालन हुने छ ।
What you should know
धरान — धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार धरान उपमहानगरपालिका–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडान स्थलमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता उद्घाटन गरेका हुन् ।
प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ सम्म ३ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान–४ छोटी मोरङबाट उडान भरेर धरान–१४ स्थित खत्री धारादेखि उत्तर बेलगाछी पश्चिममा अवतरण हुनेछ ।
कोशी प्रदेशमा पर्यटनको ठूलो सम्भावना रहेकाले प्रदेशको पहिलो परिचय पर्यटन विधा र राष्ट्रिय आयआर्जन पनि बन्न सक्ने मुख्यमन्त्री कार्कीले बताए । कोशी अन्य प्रदेश भन्दा फरक हिमाल, पहाड, तराई समेटेर बनेकोले साहसिक खेलका क्षेत्रमा नेपालको अन्य क्षेत्र भन्दा महत्वपूर्ण क्षेत्र रहेको उनले बताए ।
खेलकुदलाई प्रोत्साहन गर्ने हिसाबले पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा प्याराग्लाइडिङ लिग प्रतियोगिता आयोजना गरिने समेत मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।
प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने संघले जनाएको छ । नेपालमा प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भए पनि व्यवस्थित लिग प्रणाली भने पहिलो पटक सुरु गरिएको संघले जनाएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष, महिला तथा राष्ट्रिय पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १८ औं एसियाली खेलकुदमा पदक जितेका खेलाडीको समेत सहभागी रहेको छ ।
प्रतियोगितामा भारत, चीन, श्रीलंक, मलेसियालगायत युरोपेली देशका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा खुल्ला विधामा विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी महिला विधामा विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार प्राप्त गर्नेछन् । राष्ट्रियतर्फ पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् भने महिला विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् ।
