भेटका क्रममा दुई प्रदेशबीच पर्यटन, हवाई सेवा र आर्थिक समृद्धिका सम्भावित सहकार्यबारे छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जनाए।
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच बिहीबार विराटनगरमा भेटघाट भएको छ।
भेटका क्रममा दुई प्रदेशबीच पर्यटन, हवाई सेवा र आर्थिक समृद्धिका सम्भावित सहकार्यबारे छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जनाए।
छलफलमा विराटनगर–पोखरा हवाई सेवा सञ्चालन गर्ने तथा पोखरा पुगेका पर्यटकलाई कोशी प्रदेशको हिमाली क्षेत्रको ‘माउन्टेन फ्लाइट’ मार्फत हिमालको दृश्यावलोकन गराउने विषयमा विशेष कुराकानी भएको लुइटेलले जानकारी दिए।
दुवै मुख्यमन्त्रीले पर्यटनका हिसाबले महत्वपूर्ण मानिने कोशी र गण्डकी प्रदेशबीच सहकार्य विस्तार गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।