खोटाङको फेदीमा हनी हन्टिङ महोत्सव हुने

महोत्सवमा रैथाने खानाको स्वादसमेत चाख्न पाइनेछ ।

वैशाख २४, २०८३

डम्बरसिं राई

Honey Hunting Festival to be held in the foothills of Khotang

खोटाङ — केपिलासगढी गाउँपालिका–१ फेदीमा आगामी जेठ ८ गते हनी हन्टिङ महोत्सव आयोजना गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हनी हन्टिङ महोत्सव आयोजना गर्ने तयारी गरिएको हो ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार फेदीको तेरवाभीरमा उक्त महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । मुन्दुम ट्रेलसँग जोडिएकाले पर्यटन प्रवर्द्धन र पर्यावरणको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्ने तयारी गरिएको राईले बताए । उक्त महोत्सव कोशी प्रदेश र गाउँपालिकाको आर्थिक लगानी, गाउँपालिकाको आयोजना तथा वडा कार्यालयको व्यवस्थापनमा गर्ने तयारी गरिएको राईले सुनाएका छन् ।

उक्त महोत्सवमा रैथाने खानाका परिकारहरू समेत व्यवस्था गरिएको राईले जनाए । ‘हनी हन्टिङ साहसिक तथा रोमाञ्चक तरिकाले गरिने भएकाले पर्यटकको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ,’ राईले भने, ‘महोत्सवमा रैथाने खानाको स्वादसमेत चाख्न पाइनेछ ।’ फेदीका दर्जनभन्दा बढी भीरहरूमा भीर माहुरीको सिकार गर्ने परम्परा छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully