बाँदर आतंकले खेतबारी छाडेर सहर पस्दै किसान

उदयपुरका विकट गाउँका किसान खेतबारीमा बाँदरको आतंक नियन्त्रण गर्न नसक्दा पुर्ख्यौली सम्पत्ति छाडेर सहर पलायन हुन बाध्य भएका छन्।

वैशाख २४, २०८३

राकेश नेपाली

Farmers fleeing farmlands and entering cities due to monkey terror

What you should know

उदयपुर — उदयपुरको विकट पहाडी क्षेत्रको ताप्ली गाउँपालिका–५ भदौरेका चक्रबहादुर मंग्रातीले जीवनभर मेहनतले जोतेको खेतबारी, पुर्ख्यौली घर र गाउँ नै छाड्नुपर्‍यो । हरेक वर्ष खेतबारीमा लगाएको धान, मकै, कोदो, फलफूल र तरकारी बाँदरले सखाप पार्न थालेपछि उनी विकल्पहीन बने । अनेक उपाय अपनाउँदा पनि खेती जोगिन नसकेपछि मंग्राती परिवारसहित काठमाडौंको कीर्तिपुर बसाइँ सरेका छन् ।

अहिले उनी दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छन् । ‘खेती नै हाम्रो जीवन थियो तर, बाँदरले उत्पादन भित्र्याउनै दिएन,’ मंग्रातीले पीडा पोख्दै भने, ‘महिनौंको दुःख एकैछिनमा सखाप पारिदिएपछि गाउँ छाड्नुको विकल्प रहेन ।’

मंग्राती मात्रै होइन, भदौरे र आसपासका गाउँबाट ईश्वर नेपाली, कृष्ण मंग्राती, शारदा भट्टराई, नरबहादुर कार्कीलगायत धेरै परिवार बाँदर आतंककै कारण विस्थापित भएका छन् । ताप्ली–५ मादलेका दिनेश खिलिगेंको पीडा पनि उस्तै छ । ‘बारीमा लगाएको मकै कहिल्यै घर भित्र्याउन पाइएन,’ उनले भने, ‘चौबिसै घण्टा बाँदर कुरेर बस्न सकिँदैन, कतिबेला आएर सबै सखाप पार्छ, थाहै हुँदैन, अन्ततः बारी बाँझै छाडेर बसाइँ सर्नुपर्‍यो ।’

किसानहरू आजित भएपछि ताप्ली गाउँपालिकाले आर्थिक वर्ष ०८१/०८२ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर धपाउने बन्दुक खरिद गरेको थियो । ४२ वटा टोल विकास संस्थालाई एक–एक थानका दरले बन्दुक वितरण गरियो । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार सुरुवातमा बन्दुकको आवाजले बाँदर भाग्ने गरेका थिए । ‘पहिला आवाज सुन्नासाथ भाग्थे,’ उनले भने, ‘अहिले त बन्दुक पड्किँदा पनि वास्ता गर्न छाडिसके । कानुनी रूपमा मार्न नपाइने भएकाले नियन्त्रणका अन्य उपाय पनि प्रभावकारी हुन सकेका छैनन् ।’

कटारी नगरपालिका–२ गुराँसका किसान उद्धव खत्री बाँदरले आँपको बोटमै चिचिला नष्ट गर्न थालेपछि चिन्तित छन् । फूल लाग्न थालेदेखि नै बाँदरले सखाप पारिदिने भएकाले मेहनत खेर जाने गरेको उनले बताए ।  
स्थानीयका अनुसार वनजंगल विनाश हुँदै जाँदा जंगलमा पर्याप्त आहारा नपाएका बाँदर बस्ती पस्न थालेका हुन् । अहिले खेतबारी मात्र होइन, घरभित्र पसेर समेत उपद्रव मच्चाउने गरेको गुनासो बढ्दो छ । उदयपुरगढी गाउँपालिका–४ ढुाग्रेका कटकबहादुर मगर भन्छन्, ‘दिनभर त पहरा दिएकै हुन्छौं ।  कति बेला हुल आएर सबै नष्ट गरेर जान्छन् ।’ बाँदरले करेसाबारीका तरकारी, फलफूल मात्र होइन, घरको बार्दलीमा राखिएका सामग्रीसमेत नष्ट गर्न थालेको स्थानीय बताउँछन् ।

लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिक्षाका बलराज राईका अनुसार गाउँमा युवा जनशक्ति अभाव हुँदा समस्या झन् जटिल बनेको छ । ‘रोजगारीको खोजीमा युवा विदेश र सहरतिर गए,’ उनले भने, ‘गाउँमा बृद्धबृद्धा र बालबालिका मात्रै छन् । बारी बाझिँदै गएपछि बाँदर झन् गाउँ पसेका छन् ।’ उनका अनुसार बाँदरको व्यवहार पनि पहिलेभन्दा आक्रामक बन्दै गएको छ । ‘पहिला धपाउँदा भाग्थे, अहिले त उल्टै झम्टिन आउँछन्,’ उनले भने ।

स्थानीय तहहरूले पटक–पटक छलफल गरे पनि बाँदर नियन्त्रणको प्रभावकारी उपाय अझै फेला पर्न सकेको छैन । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार यो समस्या उदयपुरमा मात्रै सीमित छैन । ‘देशभरका किसान बाँदर आतंकबाट पीडित छन्,’ उनले भने, ‘स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन । संघीय सरकारले स्पष्ट नीति बनाएर दीर्घकालीन समाधान लागू गर्न आवश्यक छ ।’ पहाडका गाउँमा खेतीयोग्य जमिन बाझिँदै जानु, किसान विस्थापित हुनु र कृषि उत्पादन घट्दै जानु केवल स्थानीय समस्या नभई राष्ट्रिय खाद्य सुरक्षासँग जोडिएको चुनौती बनिरहेको विज्ञहरू बताउँछन् । तर सरकार भने अझै प्रभावकारी नीति र कार्ययोजनाविहीन देखिन्छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully