छथर जोरपाटीको परेवादिन, चुलाचुली, ओख्रे, काजीमान, बन्चरे र तेलियालगायतका क्षेत्रमा विद्युत सेवा अनियमित भएको उपभोक्ता बताउँछन्।
What you should know
धनकुटा — अनियमित विद्युत आपूर्ति र लो भोल्टेजको समस्याले धनकुटाको छथर जोरपाटी गाउँपालिकाका उपभोक्ता हैरान बनेका छन्।
छथर जोरपाटी-४ तेलियाका उपभोक्ता डिकबहादुर गिरीले विद्युत आपूर्तिमा हुने गडबडीका कारण लामो समयदेखि समस्या भोगिरहेको बताए । गिरीले अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण सामान्य घरेलु काम समेत प्रभावित भइरहेको जनाए । 'हामीलाई ठूलो उद्योग चलाउनुपरेको छैन, तर मोबाइल चार्ज गर्नसमेत नपुग्ने बिजुली आउँछ,' उनले गुनासो गरे।
उनले महालक्ष्मी नगरपालिकाको लेगुवामा बास तथा रुखपातले तार छोए तेलियामा बत्ती जाने, ओख्रेमा समस्या आउँदा मजुवामा विद्युत आपूर्ति अवरुद्ध हुने समस्या रहेको जनाए । तेलियाकै अर्का उपभोक्ता मेघराज खतिवडाले अनियमित आपूर्तिका कारण गाउँघरमा प्रयोग हुने उपकरण सञ्चालनमा समस्या भइरहेको बताए। 'मोबाइल, फ्रिज, टिभी त छँदैछन्, घाँस काट्ने मेसिनजस्ता कृषि उपकरणसमेत राम्रोसँग चल्दैनन्,' उनले भने। यसले किसानको समय व्यवस्थापनमा समेत असर पारिरहेको उनले बताए । उनले, 'पहिले बिजुली नहुँदा ढुक्कै थियो । बिजुली आएपछि बरु समस्या थपिएको छ।'
बिजुलीको भर पर्दा दैनिक कामकाज नै प्रभावित भइरहेको उनको भनाइ छ। उनले थपे, 'नहुँदा थिएन ठिकै थियो, अहिले बिजुली छ भनेर भर परिन्छ तर काम दिँदैन।'
छथर जोरपाटीको परेवादिन, चुलाचुली, ओख्रे, काजीमान, बन्चरे र तेलियालगायतका क्षेत्रमा यस्तो समस्या रहेको स्थानीय उपभोक्ता बताउँछन्। विशेषगरी सिँचाइ, दुध चिस्यान, कृषिजन्य सामग्री प्रशोधनजस्ता काममा भरपर्दो विद्युत नहुँदा किसान थप मारमा परेका छन्।
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवले हावाहुरी, पुराना संरचना र लामो फिडरका कारण समस्या देखिएको उनले जनाए। उनका अनुसार हाल महालक्ष्मी फिडरमार्फत छथर जोरपाटी क्षेत्रमा विद्युत आपूर्ति भइरहेको छ, जसले लोड बढाउँदा ट्रिपिङ र लो भोल्टेजको समस्या निम्त्याएको हो। 'फिडर लामो हुँदा सानो समस्या आउँदा पनि ठूलो क्षेत्र प्रभावित हुन्छ,' यादवले भने, 'यसको समाधानका लागि छोटो र छुट्टै फिडर निर्माणको योजना बनाइएको छ।'
उनका अनुसार धनकुटाका सवस्टेसनबाटै छथर जोरपाटी क्षेत्रमा सिधैं विद्युत वितरण गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। यसले ट्रिपिङ घटाउने, भोल्टेज सुधार गर्ने र आपूर्ति नियमित बनाउने अपेक्षा गरिएको यादवले जनाए। 'हामीले यसका लागि माथिल्लो निकायमा प्रस्ताव पठाइसकेका छौं, दीर्घकालीन समाधानमा काम भइरहेको छ,' उनले भने। हाल धनकुटामा २६ हजार ७३८ घरेलु उपभोक्ताले विद्युत सेवा दिएका छन्। तर संरचनागत सुधार हुन नसक्दा ग्रामीण भेगका उपभोक्ता अझै भरपर्दो विद्युत सेवा पाउनबाट वञ्चित छन्।
