बस्ती नजिकै हिउँचितुवा पसेपछि खम्बाछेनका बासिन्दा त्रसित

हिउँचितुवा बस्ती छिरेर याक सिकार गरेपछि गाउँलेलाई रातभर चौंरी सम्हाल्न हम्मेहम्मे परेको छ ।

वैशाख १९, २०८३

आनन्द गौतम

Residents of Khambachen panic after snow leopard enters settlement

ताप्लेजुङ — बुधबार दिउँसो खम्बाछेनका बासिन्दाले बारम्बार हिउँचितुवाको आवाज सुने । लगत्तै गोठालाहरूले आफ्नो गोठका चौंरी बस्ती नजिकै पुर्‍याए ।

तर, साँझपख सोनाम शेर्पाको दुई वर्षको याक गोठमै आएर खाइदियो । त्यसपछि चौंरीको भागाभाग भयो । सयौंको संख्यामा रहेका चौंरी आत्तिएर दौडिन थालेपछि सम्हाल्न गाउँलेलाई रातभर हम्मेहम्मे परेको दृश्य हिउँचितुवा उपसमितिका अध्यक्ष पान्जोक्ला शेर्पाले सुनाइन् ।  

पशुचौपायामा त्यो त्रास शुक्रबारसम्मै रह्यो । बिहीबार र शुक्रबार घर नजिकै झुम्मिने, बाहिर चरनतिर जान नचाहने, जबरजस्ती खेदाए फर्किइहाल्ने जस्ता गतिविधि चौंरीले देखाए । जङ्गलबाट हिउँचितुवाको आवाज पनि शुक्रबारसम्मै आइरहेको उनले सुनाइन् । यस्तो बेलामा त पशुचौपाय ठाडो परेर आवाज आएकोतिर हेर्ने र घरतिर दौडने गर्छन् । यसअघि सेलेले पास नजिकै कुर्लुङ खर्कमा १२ वटा चौंरी यसरी नै चितुवाले खाइदिएको थियो । 

उपसमितिका संयोजक शेर्पाका अनुसार यसरी बस्तीकै सम्मुखमा आएर घरपालुवा जनावर सिकार गरेको पछिल्लो एक दशकयताको पहिलो घटना हो । हरेक वर्ष दुई-चार चौंरी खाएको निवेदन पशुपालकले उपसमितिमा गर्छन् । तर जंगलका खर्कमा एक्लाएक्लै भएको समयमा चितुवाले सिकार गर्थ्यो । बस्तीमै पसेपछि भने मानिसमा पनि त्रास बढेको स्थानीय नुपु शेर्पा बताउँछन् ।

खम्बाछेन ४१ सय मिटर उचाइमा रहेको कञ्चनजंघा हिमाल जाने मार्गमा पर्छ । पर्यटकको एउटा प्रमुख बासस्थान यही हो । फागुनदेखि जेठसम्म र असोजदेखि मंसिरसम्म यहाँ विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल भइरहन्छ । विदेशी पर्यटक धेरै हुन्छन् । 

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्‍अन्तर्गत उपसमितिले एउटा पशुचौपायालाई क्षति पुर्‍याए १० हजार रुपैयाँ दिने नियम रहेको छ । ‘यो हिउँचितुवाले मारेको याकको मूल्य कम्तीमा पनि ४५ हजार हो,’ पान्जोक्लाले भनिन्, ‘तर, हाम्रो कोषमा भएको रकम र हामीले बनाएको नियमानुसार १० हजारभन्दा बढी दिन सकिँदैन ।’

क्षतिपूर्ति बापतको रकममा पशुपालकले बारम्बार आपत्ति जनाउने र गुनासो गर्ने गरेका छन् । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व पनि सिर्जना गरेको पर्यटन व्यवसायी समेत रहेका नुपुको दाबी छ ।

सामान्यतया हिउँचितुवा ५१ सय मिटरमाथिको क्षेत्रमा विचरण गर्छ । ‘अहिले उसको बासस्थान क्षेत्रमा आहारको कमी भएर बस्तीसम्मै आइपुगेको त होइन भन्ने गाउँलेमा भएको छ,’ नुपुले थपे, ‘बुधबार जहाँ कराएको थियो, उसको आवाज पछिल्ला दिनमा पनि त्यही क्षेत्रबाट सुनिएको छ । यसले मानिसलाई पनि त्रसित बनाएको छ ।’ 

हिउँचितुवाको मुख्य आहार वन भेडा (नाउर) हो । ‘घरपालुवा जनावर पनि  सिकार नगर्ने होइन । तर बस्ती नजिकै आएर गर्न थालेपछि नयाँ विषय बन्यो,’ अध्यक्ष पेन्जोक्लाले भनिन् ।

उपसमितिमा स्थानीयले मुख्यमुख्य स्थानमा परभक्षी प्रतिरोधक गोठ निर्माण, पशु बिमा बापतको रकममा वृद्धि गरी ३० देखि ४० हजार बनाउनुपर्ने, पशु अनुदानको व्यवस्था हुनुपर्ने, पशुपालकलाई मौसम अनुसारको चम्किलो सोलार बत्तीको व्यवस्था गरिदिनुपर्ने जस्ता माग रहेको अध्यक्ष शेर्पा बताउँछिन् । तर उपसमितिसँग यसलाई सम्बोधन गर्ने बजेट नभएको उनको भनाइ छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully