किरातीहरूले बैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् ।
खोटाङ — तल तल सिमसारैमा एहोइ हलहलेको साग छ एहोइ स्यामुना
कसको छोरा कसको छोरी, एहोइ तिम्रै माया लाग्छ एहोइ स्यामुना ।
ढोल र झ्याम्टाको तालमा गीत गुन्जाउँदै किराती राई समुदायका युवा–युवती पञ्चरबाटोमा शुक्रबार साकेला सिली नाचेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा पञ्चरदोबाटोस्थित ११० फिट अग्लो यलम्बरको सालिक भएको ठाउँमा किराती राई समुदायका युवा–युवती मात्र होइन, बालबालिका, वृद्ध–वृद्धासम्मले साकेला सिली नाचेका हुन् ।
बुइपा वडा कार्यालयको आयोजनामा भएको साकेला सिलीमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई, प्रतिनिधिसभा सदस्य आरेन राईलगायत सहभागी थिए ।
किरातीहरूले बैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् । जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मङ्सिरे पूर्णिमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीमराज राईले बताएका छन् ।
उभौलीमा बाली–नाली लगाउने बेला हुने भएकाले खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप नपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन रहेको राईले सुनाए ।
मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मङ्सिरे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको राईले बताए । उभौली, उधौलीमा आफन्तसँग भेटघाट गर्ने महत्त्वपूर्ण अवसर पनि मानिन्छ ।
शुक्रबार जिल्लाका विभिन्न ठाउँमा उभौली मनाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ जायजुमलगायत विभिन्न ठाउँमा उभौली साकेला मनाइएको छ ।
