प्रयोगविहीन हुँदै झोलुङ्गे पुल, यात्रुहरू गाडीबाट ओर्लिन्छन् र तस्बिर खिच्छन्

सडक सञ्जालले तर्किएर धनकुटा जिल्लामा सडक सञ्जाल विस्तारसँगै दर्जनौं झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा पुगेका छन्।

वैशाख १८, २०८३

विनोद घिमिरे

Suspension bridge falling into disuse, passengers get out of cars and take pictures

धनकुटा — झोलुङ्गे पुल कुनै समय दुर्गम पहाडी जनजीवनको अभिन्न अंग थिए। बर्खाका बेला उर्लने खहरे होस् वा बाह्रै महिना बग्ने खोलानाला, तिनका माथि बनेका झोलुङ्गे पुल बटुवाका लागि सुरक्षित र भरपर्दो विकल्प थिए।

विद्यालय जाने बालबालिका, बिरामी बोकेर स्वास्थ्यचौकी धाउने आफन्त, दैनिक उपभोगका सामग्री किनमेल गर्न बजार जाने स्थानीय-सबैका लागि यस्ता झोलुङ्गे पुलले यात्रा छोट्याउने मात्र होइन, जीवन नै सहज बनाएको थियो।

ओल्लो र पल्लो गाउँको साइनो जोडेका धनकुटाका अधिकांश झोलुङ्गे पुल अब प्रयोगविहीन बन्दै गएका छन्। धनकुटा नगरपालिका–५ खनियाबास र छथर जोरपाटी गाउँपालिका–३ को बन्चरे पुछार जोड्ने ताङखुवा खोलामाथिको झोलुङ्गे पुल यस्तै नियतिको साक्षी बनेको छ।

एक समय खोला तर्नका लागि धनकुटाको तेलिया, ताङखुवा र तेह्रथुमको फयाक, शुक्रबारे र फाक्चामारा सम्मका बटुवाले आवतजावतका लागि प्रयोग गरेको यो पुल अहिले पूर्ण रूपमा प्रयोगविहीन छ। धनकुटा सदरमुकामबाट बिहीबारे हाट, कर्मिटार, खनियाबास, बन्चरे, तेलिया हुँदै खोक्तापसम्म कालोपत्रे सडक बनेपछि बटुवाको पाइला यस पुलतर्फ फर्किएको छैन। कहिलेकाहीँ सवारी साधनका यात्रुले रोकेर यहाँ फोटो खिच्ने गर्छन्।

यस्तै अवस्था धनकुटा नगरपालिका–३ को सिप्तिङ पुछार र वडा–२ को भिरगाउँ जोड्ने निबुवा खोलामाथिको झोलुङ्गे पुलको पनि छ। माथिबाट झरेका ढुङ्गाले संरचना क्षतिग्रस्त बनाइसकेको छ। बटुवा हिँड्न छाडेपछि पुलसमेत एक्लिएको छ।

Suspension bridge falling into disuse, passengers get out of cars and take pictures

छथर जोरपाटी–४ को तेलिया खोलामा बनेको कङ्सुवा पुल पनि उस्तै नियतिमा छ। लामो समयदेखि यो पुल पनि प्रयोगमा छैन। बटुवा र खेतीपातीका लागि हिँड्ने किसानसमेत नभएपछि उक्त झोलुङ्गे पुलको प्रयोग हराएको हो।

सडक सञ्जालले तर्किएर प्रयोगविहीन बनेका यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। धनकुटा जिल्लामा सडक सञ्जाल विस्तारसँगै दर्जनौं झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा पुगेका छन्। सडक र कल्भर्टले ठाउँ लिएपछि विगतमा निर्माण गरिएका धेरै पुलहरू प्रयोग र संरक्षणविहीन अवस्थामा अलपत्र छन्।

तत्कालीन जिल्ला विकास समितिका अधिकृत सीताराम गौतमका अनुसार जिल्लाभर ६० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिएको थियो। 'त्यो बेला आवश्यकताअनुसार निर्माण गरिएका धेरै पुल अहिले असान्दर्भिक भएका छन्,' उनी भन्छन्, 'अब ती पुललाई आवश्यक स्थानमा स्थानान्तरण गर्न सकिने प्रावधान छ, तर त्यसतर्फ ध्यान पुगेको छैन।'

उनका अनुसार हाल जिल्लाका सातवटा स्थानीय तहमा कम्तीमा १५ वटा पुल पूर्ण रूपमा प्रयोगविहीन छन्।

२०६५ सालयता झोलुङ्गे पुल निर्माणमा सामाजिक परिचालन गर्दै आएको पर्डेप नेपाल, धनकुटाका मीनप्रसाद सुवेदीका अनुसार यस्ता पुल निर्माणमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म लगानी भएको छ। 'कतिपय पुल अझै केही प्रयोगमा छन्, तर धेरैजसोको सान्दर्भिकता घट्दै गएको छ,' उनी भन्छन्, 'सडक र नयाँ बाटोघाटोले पुराना मार्ग विस्थापित गर्दा पुलहरू अपायक बने।'

विद्यालय, स्वास्थ्य संस्था, बजार आउन–जान खहरे, खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो। यही समस्यालाई सम्बोधन गर्न झोलुङ्गे पुलहरू निर्माण गरिएका थिए। पछिल्लो दशकमा ग्रामीण सडक सञ्जाल तीव्र रूपमा विस्तार भयो। मोटरबाटो गाउँ–गाउँसम्म पुग्न थालेपछि पैदल मार्गहरू ओझेलमा परे। पहिले बटुवाको घुइँचो देखिने मार्ग भएर अहिले सडक खनिएका छन्। मान्छेको आवतजावत सवारी साधनबाट हुन थालेको छ। यस्तो परिवर्तनले झोलुङ्गे पुलको उपयोगिता घटाएको धनकुटा–६ का वडाध्यक्ष मिलन खड्गी बताउँछन्।

Suspension bridge falling into disuse, passengers get out of cars and take pictures

प्रयोगविहीन पुलहरूलाई त्यसै छोडिँदा करोडौँ लगानी खेर जाने जोखिम छ। स्टिल पार्ट्स र लठ्ठालगायतका सामग्री बिग्रिएका छन्। जिल्ला विकास समिति धनकुटामा करिब २० वर्ष काम गरेका अधिकृत सीताराम गौतम नयाँ सडकले नछोएका दुर्गम क्षेत्र, विद्यालय–स्वास्थ्य संस्था जोड्ने मार्ग वा पर्यटकीय पदमार्गमा यस्ता पुल पुनःस्थापना गर्न सकिने बताउँछन्।

मीनप्रसाद सुवेदी पनि यही कुरामा जोड दिन्छन्, 'जति सक्दो चाँडो प्रयोगविहीन पुललाई आवश्यक ठाउँमा सार्नुपर्छ, नत्र संरचना नै काम नलाग्ने अवस्थामा पुग्छ।'

अहिले झोलुङ्गे पुलको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय तहको क्षेत्राधिकारमा पर्छ। तर स्थानीय तहले प्रयोगविहीन र असान्दर्भिक बनेका झोलुङ्गे पुल निकालेर आवश्यक परेका ठाउँमा लगाउने चासो भने देखाएका छैनन्।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully