गुराँसको राजधानीमा लालीगुराँस महोत्सव सम्पन्न

टीएमजे क्षेत्र विश्वमै पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइने जैविक विविधताले सम्पन्न क्षेत्र हो। यही विशेषतालाई केन्द्रमा राख्दै आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वैशाख १४, २०८३

विनोद घिमिरे

Laligurans Festival concludes in Gurans capital

What you should know

धनकुटा — तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्क यतिबेला ढक्कमक्क भएको लालीगुराँसको रङ्गले मात्र होइन, साहित्य र संस्कृतिले गुञ्जयमान बन्यो। लालीगुराँस नगरपालिकाले वैशाख १० गतेदेखि १४ गतेसम्म आयोजना गरेको लालीगुराँस महोत्सवले तीनजुरे–मिल्के–जलजले क्षेत्र (टीएमजे) को पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको हो।

गुराँसको राजधानीका रूपमा चिनिने यस क्षेत्रको प्राकृतिक सम्पदा, मौलिक संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले वातावरण संरक्षण र प्रकृतिमैत्री जीवनशैलीप्रति सचेतना फैलाउन महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताए।

'प्रकृतिमैत्री जीवन जिउन वातावरण जोगाउनु अनिवार्य छ, त्यसमा सबैको भूमिका आवश्यक हुन्छ,' उनले भने। प्रकृतिमैत्री जीवन जिउनुपर्छ त्यसका लागि वातावरण संरक्षण पहिलो सर्त हो। वातावरण संरक्षणमा सरकार, साहित्यकार, संघसंस्था र स्थानीयको भूमिका खोज्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख माबोहाङको भनाइ छ। 

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा रैथाने परिकार, अर्गानिक खाद्य सामग्री, ढाका कपडालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री भएको छ। साथै चोत्लुङ पार्क, लिभिङ युमा म्युजियम र टीएमजे क्षेत्रसम्म गुराँस अवलोकन कार्यक्रमसमेत समावेश गरिएको प्रमुख माबोहाङले बताए । चोत्लुङ पार्कमा आयोजित महोत्सवमा साहित्यिक गतिविधिले पनि विशेष स्थान पाएको छ। साहित्यिक गोष्ठीमा वरिष्ठ साहित्यकार उपेन्द्र सुब्बासहित करिब २७ जना कवि तथा साहित्यकारले रचना वाचन गरे। चन्द्र गुरुङ, राज माङ्लाक, प्रदीप मेन्याङ्वो, हेमन यात्री, सीमा आभाष, गगन योक्पाङ्देन, कविता राई, प्रवीण खालिङ राईलगायतका स्रष्टाले आफ्ना सिर्जनामार्फत समाज, प्रेम, पीडा र जीवनका विविध पाटा प्रस्तुत गरेका थिए।

कवितामार्फत सामाजिक यथार्थ र व्यक्तिगत भोगाइ अभिव्यक्त गर्दै स्रष्टाहरूले दर्शकसँग भावनात्मक सम्बन्ध जोड्न सफल भएका थिए। साहित्यिक गोष्ठीले महोत्सवलाई अझै जीवन्त बनाएको सहभागीहरूको भनाइ छ।

टीएमजे क्षेत्र विश्वमै पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइने जैविक विविधताले सम्पन्न क्षेत्र हो। यही विशेषतालाई केन्द्रमा राख्दै आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नगर प्रमुख माबोहाङले महोत्सवले स्थानीय पहिचान संरक्षणसँगै अर्गानिक जीवनशैली र वातावरणमैत्री व्यवहारप्रति चेतना अभिवृद्धि गराउने विश्वास व्यक्त गरे। कार्यक्रमको आयोजना लालीगुराँस नगरपालिकाले गरेको हो।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully