कोशीका निर्माण व्यवसायी भन्छन्- 'इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा'

मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

वैशाख १३, २०८३

पर्वत पोर्तेल

Construction entrepreneurs in Koshi say - 'The construction sector is in crisis due to the increase in the prices of fuel and construction materials'

What you should know

विराटनगर — इन्धनजन्य तथा निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको निर्माण व्यवसायीहरूले गुनासो गरेका छन्। 

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनको मूल्य पछिल्लो समय पटक–पटक अस्वाभाविक रूपमा बढ्दै गएको छ। त्यससँगै सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य पनि निरन्तर उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

उनीहरूका अनुसार यसले निर्माण कार्यको लागत अत्यधिक बढाएको छ भने ठेक्का अनुसार काम सम्पन्न गर्न कठिनाइ उत्पन्न भएको छ। 'मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योग धराशायी हुने जोखिम बढेको छ,' निर्माण ब्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष केशव गौतमले भने।

निर्माण व्यवसायीहरूले मूल्य समायोजनको व्यवस्था व्यवहारमा प्रभावकारी नभएको गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंकको सूचकांक अनुसार मूल्य समायोजन हुने व्यवस्था भए पनि वास्तविक बजार मूल्य अनुसार समायोजन हुन नसक्दा व्यवसायी थप मारमा परेको उनीहरूको भनाइ छ।

यस अवस्थाले राष्ट्रिय गौरवका आयोजनादेखि साना तथा मझौला परियोजनासम्म निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने जोखिम बढ्दै गएको व्यवसायीहरूले बताएका छन्।

समस्या समाधानका लागि व्यवसायीहरूले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि अनुसार ठेक्का रकम समायोजन गर्ने स्पष्ट निर्देशिका जारी गर्न, राहत प्याकेज ल्याउन तथा बैंक ग्यारेन्टी र बिमामा सहुलियत दिन सरकारसँग माग गरेका छन्। निर्माण क्षेत्रलाई थप संकटमा जान नदिन तत्काल नीतिगत र व्यावहारिक पहल आवश्यक रहेको व्यवसायीहरुको माग छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully