सेवाग्राहीका गुनासो नसुनेको, व्यवस्थापनमा तत्परता नदेखाएको र प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकमा समेत उपस्थित नभएको कारण देखाइएको छ ।
धनकुटा — धनकुटा प्रशासनले जिल्लाका तीनवटा सरकारी कार्यालयका प्रमुखसँग लिखित स्पष्टीकरण मागेको छ । सेवा प्रवाहमा ढिलासुस्ती, गैरजिम्मेवारी तथा सेवाग्राहीप्रति उदासीन देखिएको भन्दै प्रशासनले स्पष्टीकरण माग गरेको हो ।
प्रशासनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयलाई तीन दिनभित्र जवाफ पेस गर्न शुक्रबार निर्देशन दिएको हो। उनीहरूले सेवाग्राहीका समस्या र गुनासा नसुनेको, व्यवस्थापनमा तत्परता नदेखाएको र प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकमा समेत उपस्थित नभएको बताइएको छ। साथै, चालु आर्थिक वर्षमा हालसम्मको कार्यप्रगति विवरणसमेत पेस गर्न भनिएको छ।
ती कार्यालयबाट प्रदान गरिने सेवामा ढिलाइ, कार्यसम्पादनमा कमजोरी तथा सेवाग्राहीबाट निरन्तर गुनासा आउने क्रम बढेपछि निगरानी कडा पारिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताए । वैशाख १० मा बसेको जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले सेवा प्रवाहको अवस्था समीक्षा गर्दै सम्बन्धित निकायसँग स्पष्टीकरण माग्ने निर्णय गरेको जानकारी दिए।
कार्यालय प्रमुखको बैठकमा समेत ती कार्यालयका प्रमुखहरू उपस्थित हुन छाडेपछि प्रशासनले थप कडाइ गरेको जनाएको छ। सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख, सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद साहविरुद्ध सेवाग्राहीको फोन नउठाउने, उठाए पनि झर्केर जवाफ दिने, गुनासो नसुन्ने तथा व्यवस्थापनमा चासो नदिने जस्ता आरोपसहित जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरीसमेत परेको थियो।
रेग्मीका अनुसार तोकिएको तीन दिनभित्र जवाफ नआए वा जवाफ चित्तबुझ्दो नदेखिए सम्बन्धित मन्त्रालयलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।
