पर्यटन क्षेत्रको विकासका लागि छथर जोरपाटी बहुसांस्कृतिक पार्क, हलहले पदमार्ग, हरिराज खेवा स्मृति पार्क, कर्मा छेलिङ गुम्बा लगायतका आयोजना पनि प्रस्ताव गरिएको छ ।
What you should know
धनकुटा — छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३९ वटा योजना प्रदेश योजना आयोगको योजना बैंकमा प्रस्ताव गरेको छ।
दोस्रो गाउँसभाको आठौँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, आर्थिक विकास, रोजगारी, मानवीय विकास र सुशासनसँग सम्बन्धित योजना प्रदेश सरकारसमक्ष माग गरिएको जानकारी दिइन्।
उपाध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने गरी जोरपाटी–चुलाचुली–लामिछाने डाँडा–ठूलो आहाल–याचनाघाट सडक कालोपत्रका लागि प्रस्ताव गरिएको छ। यस्तै त्रिशुले–हात्तीखर्क–माङमाया–जितपुर सडक, सिदुवा–पिपलडाँडा–जोरपाटी–सल्ले सडक, फ्याक्ट्री–नामजाङ सडक लगायतका सडक योजना पनि आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको छ।
पर्यटन क्षेत्रको विकासका लागि छथर जोरपाटी बहुसांस्कृतिक पार्क, हलहले पदमार्ग, हरिराज खेवा स्मृति पार्क, कर्मा छेलिङ गुम्बा लगायतका आयोजना पनि प्रस्तावमा परेका छन्। कृषि तथा पशुपंक्षी विकासतर्फ हाइटेक, कोल्ड स्टोरेज निर्माण, गाई स्रोत केन्द्र स्थापना लगायतका योजना प्रदेश सरकारसमक्ष पेस गरिएको उपाध्यक्ष गुरुङले बताइन् । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ २१ करोड ५८ लाख २४ हजार र चालुतर्फ ३० करोड ४१ लाख ७६ हजार बजेट रहेको छ। आर्थिक विकासतर्फ २ करोड ६२ लाख, सामाजिक विकासतर्फ २१ करोड ७५ लाख, पूर्वाधार विकासतर्फ १४ करोड ६७ लाख तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ।
चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाले ३६ दशमलव १७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने भौतिक प्रगति २४ दशमलव २१ प्रतिशत रहेको जनाएको छ। कार्यक्रममा गाउँपालिकाले पछिल्लो साढे तीन वर्षको प्रगति विवरण समेत सार्वजनिक गरेको थियो।
सभामा गाउँपालिकामा २ दशमलव ८ किलोमिटर सडक कालोपत्रे, ८ दशमलव २१ किलोमिटर सडक ग्राभेल, ७ दशमलव ५ किलोमिटर सडक सोलिङ तथा १८० किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको जानकारी दिइयो। साथै सिधुवामा पाँच शैयाको अस्पताल भवन निर्माण, त्रिशुले–हात्तीखर्क सडक कालोपत्र, जोरपाटी–सल्ले–माङमाया–चुलाचुली–काजीमान–फुर्तुङ डाँडा–फ्याटघर हुँदै वडा नम्बर ५ को कार्यालय जाने सडक, सिदुवा–चपरीचोक तथा जोरपाटी गाउँपालिका जोड्ने गरी जम्मा १० वटा सडकमा कालोपत्र योजना कार्यान्वयन भइरहेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए।
अध्यक्ष सुब्बाले स्थानीय उत्पादनको बजार पहुँच सुनिश्चित गर्न र यातायात सञ्चालन सहज बनाउन ग्रामीण तथा कृषि सडकको स्तरोन्नति भइरहेको बताए। तर गाउँपालिकाको कमजोर आन्तरिक आयका कारण अपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
आन्तरिक आय न्यून भएकै कारण चालु आर्थिक वर्षमा गाउँपालिकाले ६ करोड ५० लाख रुपैयाँ घाटा बजेट व्यहोर्नु परेको विवरण पनि उपाध्यक्ष गुरुङले प्रस्तुत गरिन्।
