तीनढ्वाङ्गे खहरे पुल दुई वर्षदेखि अलपत्र, स्थानीयलाई सास्ती

स्थानीयले आफ्नै पहलमा फलामे अस्थायी संरचना निर्माण गरी आवतजावतको व्यवस्था गरे पनि सवारीसाधन सञ्चालन पूर्णरूपमा प्रभावित बनेको छ।

वैशाख ११, २०८३

एलिना राई

Tindhwange Khahare Bridge has been abandoned for two years, causing suffering to locals

What you should know

धरान — धरान उपमहानगरपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तीनढ्वाङ्गे खहरे पुल दुई वर्षदेखि अलपत्र छ । पुल पुनर्निर्माणमा ढिलाइ हुँदा आवतजावतमा समस्या परेको स्थानीय बताउँछन् ।

२०८० चैतमा मर्मत सम्पन्न भएको अरुण टोलस्थित उक्त पुल ५ महिना नबित्दै २०८१ साउनमा भत्किएको थियो । पुल भत्किएको दुई वर्ष बित्न लाग्दा समेत सरकारले पुनर्निर्माण गर्न चासो नदेखाएको स्थानीयले गुनासो गर्दै आएका छन् । बर्खायाम नजिकिँदै जाँदा स्थानीयमा डर बढ्दै गएको छ ।  

विसं २०१७ सालमा ब्रिटिस घोपा क्याम्प स्थापना हुँदा घोपा पुग्न सहज र छोटो दूरी बनाउने उद्देश्यले फलामका तीन वटा ढ्वाङ्ग राखेर करिब ३२ फिट लामो पुल निर्माण गरिएको थियो । २०८० मा नेपाल सरकारको लगानीमा दुई लेनको मदन राजभण्डारी राजमार्ग कालोपत्र गरिने क्रममा ६३ वर्ष पुरानो जीर्ण अवस्थामा रहेको पुलमाथि नै कालोपत्र गरिएको थियो । त्यसबेला राजमार्ग कालोपत्र बनाउने ठेक्का पाएका मोती दान निर्माण कम्पनी काठमाडौंका ठेकेदार कम्पनीका प्राविधिक ईसाहाक राईले कर्ल्भट र कालोपत्र गर्ने ठेक्का मात्र भएकोले पुलको जिम्मा कम्पनीको नभएको बताएका थिए ।

मदन भण्डारी राजमार्ग निर्माण हुँदा नयाँ पुल बनाउन चासो नदिएर जीर्ण संरचनामाथि नै पिच गर्दा भार थाम्न नसकेर पुल भत्किएको स्थानीय हरि लामाले बताए । ‘लामो समयदेखि प्रयोगमा रहेको उक्त पुल क्रमशः जीर्ण बन्दै गएको थियो। हामीले त्यतिबेलै विरोध गरेका थियौं, नयाँ पुल बनाउने आश्वासन दिइयो तर पुरानै संरचनामाथि काम गर्दा अन्ततः पुल भत्कियो,’ उनले भने ।

पुल भत्किएपछि खहरे खोलामा पानीको बहाव अनियन्त्रित बनेको छ। बजार क्षेत्रको ड्रेनको पानी पनि यही खहरेमा मिसिने भएकाले बर्खायाममा बाढी आउने जोखिम हुने गरेको स्थानीय बताउँछन्। स्थानीय रीता राईका अनुसार पानीले निरन्तर जमिन कटान गर्दै जाँदा बस्ती उच्च जोखिममा पुगेको छ । उनले भनिन् ‘बर्खामा डुबान हुने सम्भावना बढेको छ, जमिन कटानले बस्ती नै असुरक्षित बनेको छ ।’

स्थानीयले आफ्नै पहलमा अस्थायी फलामे संरचना निर्माण गरी आवतजावतको व्यवस्था गरे पनि सवारीसाधन सञ्चालन पूर्णरूपमा प्रभावित बनेको छ। वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताले समय र खर्च दुवै बढेको स्थानीय विकास राईले बताए। उनका अनुसार बालबालिका र वृद्धवृद्धा आवतजावत गर्दा लड्ने र दुर्घटनाको जोखिम उच्च छ। ‘मुख्य बाटो साँघुरिँदै गएको छ, जमिन भासिने खतरा पनि बढेको छ,’ उनले भने।

बर्खा नजिकिँदै जाँदा जोखिम झनै बढ्ने गरेको उनले बताए । उचित तारजाली र संरक्षण संरचना नहुँदा हिँडडुल गर्न समेत असुरक्षित बनेको छ । विशेषगरी बाललबालिका, वृद्धवृद्धा जोखिममा परेका छन् । पानीले जमिन कटान गदै गएकोले बस्ती त्यही भएकोले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने अवस्था रहेको रहेको राईले बताए ।

पुल अवरुद्ध भएपछि आपतकालीन सेवामा पनि गम्भीर असर परेको छ। विशेषगरी बिरामी बोकेका एम्बुलेन्सहरू वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य छन्। पूर्वका विभिन्न स्थानबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जाने एम्बुलेन्सहरू अहिले भानु चोक हुँदै घुमेर जानुपरेको छ।

स्थानीय सागर लिम्बु भन्छन्, ‘पहिले यो बाटो छोटो थियो, अहिले घुमेर जानुपर्दा बिरामीलाई निकै सास्ती भएको छ।’ उनले दुई वर्षदेखि जोखिम र त्रासमा बस्नुपरेको भन्दै तत्काल पुनर्निर्माण आवश्यक रहेको बताउँदै उनले भने, ‘फेरि बर्खा सुरु हुन लागिसकेको छ तर पुल निर्माणको कुनै संकेत देखिएको छैन ।’ 

बर्खायाम नजिकिँदै जाँदा जोखिम बढेकाले सम्बन्धित निकायले तत्काल निर्माण प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयहरुको माग छ।

धरानका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले स्रोत सुनिश्चित नभएकै कारण काम ढिलाइ भएको स्वीकार गरेका छन् । उनका अनुसार बजेट अभावका कारण तत्काल काम अघि बढाउन नसकिएको हो । तर अहिले स्रोत सुनिश्चित भइसकेकाले अब छिट्टै पुनर्निर्माण प्रक्रिया अघि बढाइने उनले बताए। उनले मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत सडक विभागले हाल उक्त पुलको अवस्थाबारे अध्ययन तथा आवश्यक तयारी गरिरहेको पनि जानकारी दिए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully