फुटपाथ हटाउने अभियानमा नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।
विराटनगर — विराटनगर महानगरपालिकाले बजार क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने भन्दै शुक्रबार बिहानदेखि फुटपाथ खाली गराउने अभियान सुरु गरेको छ।
महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीको नेतृत्वमा खटिएको टोलीले बजार क्षेत्रमा अतिक्रमण हटाउने काम अघि बढाएको हो। यो अभियानले साना तथा दैनिक जीविकोपार्जनमा निर्भर व्यवसायीहरूलाई प्रत्यक्ष असर पारेको छ ।
अभियानका क्रममा कार्कीले व्यवसायीहरूसँग स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरे पनि धेरै साना व्यापारीले आफूहरू विकल्पविहीन भएको गुनासो गरेका छन्। 'हामीलाई हटाउन सजिलो छ, तर बस्ने ठाउँ कहाँ दिने?', ठेलामा सातु वेचिरहेका रामदेव साहले आक्रोश पोखे,'दिनभर कमाएर बेलुका परिवार पाल्ने हामीजस्ता गरिबलाई महानगरले कुनै विकल्प बिनै हटाउनु गलत हो ।'
महानगरले मुख्य बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका पसल, ठेला तथा अस्थायी संरचना हटाउने तयारी यसअघि नै पूरा गरिसकेको थियो। केही दिनअघि सरोकारवाला निकायसँगको छलफलपछि यस्तो निर्णय गरिएको बताइए पनि प्रभावित व्यवसायी भने त्यस प्रक्रियामा आफूहरूको सहभागिता नभएको दाबी गर्छन्।
यसअघि दुई दिनसम्म माइकिङ गरेर सचेत गराइएको महानगरको भनाइ छ। तर, व्यवसायीहरूका अनुसार छोटो सूचना र तत्काल हटाउने दबाबले उनीहरूलाई समस्यामा पारेको छ।
फुटपाथ हटाउने अभियानमा नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। अटेर गरे सामान जफत गरिने नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।
अभियानले सहर व्यवस्थापनमा सहयोग पुर्याउने महानगरको दाबी रहे पनि वैकल्पिक व्यवस्थाबिना गरिएको कडाइले साना व्यवसायीको रोजीरोटी नै संकटमा पर्ने देखिएको स्थानीय हरिवोल कामती बताउँछन्।
