आयातित जात तथा नश्लको बढ्दो प्रयोगका कारण स्थानीय बंगुरका जात लोप हुने जोखिम बढेपछि कार्यक्रमले परम्परागत रूपमा पालिँदै आएका जातको पहिचान, संरक्षण र प्रवर्द्धनमा जोड दिएको हो।
What you should know
धनकुटा — धनकुटाको पाख्रीबासस्थित राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले नेपालका रैथाने बंगुर जातको संरक्षण, अनुसन्धान तथा प्रविधि विकासको काम सुरु गरेको छ।
पछिल्ला वर्षमा आयातित जात तथा नश्लको बढ्दो प्रयोगका कारण स्थानीय बंगुर जात लोप हुने जोखिम बढेपछि कार्यक्रमले परम्परागत रूपमा पालिँदै आएका जातको पहिचान, संरक्षण र प्रवर्द्धनमा जोड दिएको हो।
कार्यक्रमका संयोजक डा. मनोजकुमार साहका अनुसार बामपुड्के, हुर्रा र च्वाँचे जस्ता रैथाने जात हाल लोपोन्मुख अवस्थामा पुगेका छन्। 'यी जातहरू केवल आर्थिक स्रोत मात्र होइनन्, हाम्रो जैविक विविधता र सांस्कृतिक पहिचानसँग पनि जोडिएका छन्,' उनले भने, 'त्यसैले संरक्षणसँगै उत्पादन वृद्धि र व्यावसायिक विस्तार हाम्रो मुख्य लक्ष्य हो।'
नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगतको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम धनकुटाले विकास गरेको ‘पाख्रीबास कालो’ जातको संरक्षण र विस्तारमा पनि विशेष ध्यान दिएको छ। संरक्षित प्रजनन्, सन्तुलित आहार व्यवस्थापन, रोग पहिचान तथा उपचार प्रणाली, तथा स्थानीय वातावरण अनुकूल क्षमताको अध्ययनजस्ता क्षेत्रमा अनुसन्धान भइरहेको कार्यक्रमले जनाएको छ।
कार्यक्रमले विशेषगरी घरेलु वातावरणमा सजिलै हुर्कन सक्ने र रोग प्रतिरोधात्मक क्षमता उच्च भएको रैथाने जातको पुनर्जीवनमा जोड दिएको छ। कार्यक्रमका वैज्ञानिक अन्जयकुमार साहका अनुसार रैथाने जात विदेशी जातको तुलनामा उत्पादन दर केही कम भए पनि दीर्घकालीन रूपमा किसानका लागि दिगो र सुरक्षित विकल्प बन्न सक्छन्।
रैथाने जातको संरक्षण तथा प्रविधि विकासका लागि किसानलाई लक्षित गर्दै तालिम, प्राविधिक परामर्श र सुधारिएको पालन प्रणाली विस्तार गर्ने काम अघि बढाइएको छ। स्थानीय स्रोतसाधनमा आधारित आहार व्यवस्थापन, खोर सुधार तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमार्फत उत्पादन लागत घटाउने र आम्दानी बढाउने रणनीति अपनाइएको संयोजक साहले बताए।
यता, बंगुर व्यवसाय संघ धनकुटाका अध्यक्ष रुजन राईले रैथाने बंगुर पालन प्रवर्द्धनले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनका अनुसार यसले आयात प्रतिस्थापन, ग्रामीण रोजगारी सिर्जना, पोषण सुरक्षा सुधार तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। उनले अनुसन्धानसँगै कृत्रिम गर्भाधानका लागि ‘सिड बैंक’ स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। 'सिड बैंक स्थापना भए आवश्यक पर्दा कृत्रिम गर्भाधानमार्फत उत्पादन बढाउन सकिन्छ,' राईले भने।
पूर्वी पहाडी जिल्लामा रैथाने बंगुरको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वसमेत रहेको उनले उल्लेख गरे। रैथाने बंगुरको उत्पादन वृद्धि गरी आयातितभन्दा केही उच्च मूल्यमा बिक्री गर्न सकिने र मासुको गुणस्तर तथा स्वादमा पनि रैथाने जात उत्कृष्ट रहेको उनको भनाइ छ।
राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले रैथाने जात संरक्षणलाई परम्परा जोगाउने प्रयासमा मात्र सीमित नगरी दिगो कृषि विकास, किसानको आय वृद्धि तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणसँग जोडेर अगाडि बढाउनुपर्ने अध्यक्ष राई बताउँछन्।
