सोल्मास्थित शुभम फाउण्डेसनमा सुरु भएको प्रदर्शनी ५ दिनसम्म हुने आयोजकले जनाएको छ ।
खोटाङ — दिक्तेल सोल्मामा वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी सुरु भएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा नयाा आयाम थप्ने उद्देश्यले बिहीबार सुरु भएको हो ।
सोल्मास्थित शुभम फाउण्डेसनमा सुरु भएको प्रदर्शनी ५ दिनसम्म हुने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा एआइसँगको साक्षात्कार, रोबोट कार रेस, परम्परागत र आधुनिक प्रविधि मिश्रणको स्टल राखिएको छ ।
स्टल संयोजक भूपाल राईका अनुसार प्रदर्शनीमा जिल्लाका २१ विद्यालयको २१ स्टलमा ६४ परियोजना र खोटाङ बाहिरबाट १५ स्थलमा १८ गरी ७९ वटा परियोजना प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, बायो टेक्नोलोजी सोसाइटी अफ नेपाललगायत २ दर्जन बढी विज्ञान प्रविधिसँग सम्वन्धित राष्ट्रियस्तरका संघ–संस्थामा आबद्ध ७२ जना खोटाङ आएको आयोजक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
कोशी प्रदेश सामाजिक विकास मन्क्रालयको आर्थिक सहयोग, दित्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउण्डेसन र हिमालय माविको आयोजनामा भएको प्रदर्शनीको कोशी प्रदेश पूर्व सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेका हुन् ।
