सुकेटार विमानस्थल तथा पाथीभरा जाने यात्रुको सुविधाका लागि चौतारी निर्माण गरिएको सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्मका गुल्मपति प्रमोदप्रकाश पाठकले जानकारी दिए ।
ताप्लेजुङ — फुङलिङ नगरपालिकासँगको साझेदारीमा सशस्त्र प्रहरी बल कञ्चजजङ्घा गुल्म ताप्लेजुङले सुकेटारमा एपीएफ चौतारी निर्माण गरेको छ । उक्त चौतारीको बुधबार उद्घाटन तथा शुभारम्भ गरिएको छ ।
नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइलगायत सुरक्षा अधिकारीको सहभागितामा चौतारी शुभारम्भ गरिएको हो ।
सुकेटार विमानस्थल तथा पाथीभरा जाने यात्रुको सुविधाका लागि चौतारी निर्माण गरिएको सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्मका गुल्मपति प्रमोदप्रकाश पाठकले जानकारी दिए ।
विमानस्थल जाने क्रममा जहाजमा आउने आफन्तलाई लामो समय कुरेर उभिएकी आमालाई देखपछि पाठकले नगरपालिकासँग साझेदारीको प्रस्ताव गरेका थिए । निर्माण सम्पन्न चौतारीको स्वामित्व तथा संरक्षणको जिम्मा एपीएफले फुङलिङ नगरपालिका-६ वडा कार्यालय र नगरपालिकालाई दिएको छ ।
गुल्मपति पाठकका अनुसार ६ लाख ५० हजार रुपैयाँको लागतमा चौतारी निर्माण गरिएको हो । सशस्त्र प्रहरीले पाथीभरा क्षेत्रमा पनि एपीएफ चौतारी निर्माण गरेको छ ।