धनकुटाको कोप्चे महोत्सवमा  परम्परागत बाघचालको रमाइलो

नयाँ वर्षको पूर्वसन्धयामा चैत ३० गतेदेखि धनकुटा सदरमुकामको बिहीबारे हाटमा सुरु भएको महोत्सव बुधबार समापन हुनेछ ।

वैशाख १, २०८३

विनोद घिमिरे

Traditional Bagchal fun at Dhankuta's Kopche Festival

What you should know

धनकुटा — यहाँको कोप्चे महोत्सवमा  परम्परागत बाघचाल खेलले आकर्षण थपेको छ। नयाँ वर्षको अवसरमा धनकुटाको कोप्चे पुनर्जागरण अभियानले आयोजना गरेको चौथो संस्करणको कोप्चे महोत्सवमा बालबालिका, युवा तथा वृद्धहरूसमेत भेला भएर बागचाल खेलको मजा लिइरहेका छन्।

आधुनिक खेल र प्रविधिको प्रभाव बढिरहेका बेला परम्परागत र मौलिक खेल बाघचालप्रति आकर्षण देखिएको हो । रणनीतिक खेल बाघचाल लिच्छविकालदेखि सुरु भएको अनुमान गरिन्छ। आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्माचार्यले मौलिक खेलको प्रचारप्रसार र मनोरञ्जनका लागि बाघचाल खेलको आयोजना गरिएको जानकारी दिए। 

चार बाघ र बीस बाख्राबीच खेलिने यो खेलमा बाघले बाख्रालाई खाने र बाख्राले बाघलाई घेरेर नियन्त्रण गर्ने रणनीति अपनाइन्छ। यसले खेलाडीको सोच, धैर्य र योजना निर्माण गर्ने क्षमतालाई विकास गर्ने आयोजक समितिका सचिव कर्माचार्यले बताए ।

गाउँघरमा पहिलेको समयमा बाघचाल मनोरञ्जन मात्र नभई सामाजिक जमघटको माध्यम पनि थियो। खेतीपाती सकेपछि वा चाडपर्वका बेला गाउँलेहरू भेला भएर यो खेल खेल्ने चलन थियो । मानिसहरूको जमघट र भेटघाटमा चौतारा बिसाउने र खेत खलीयानमा समेत थकाइ मार्दा नोरञ्जनका लागि बाघचाल खेल्ने चलन थियो।

बाघचाल खेल पछिल्लो पुस्ताबाट हराउँदै गएकाले यसको पुनर्जागरणका लागि खेल आयोजना गरिएको आयोजक समितिका पदाधिकारी बताउँछन्। कोप्चे महोत्सवमा बाघचाललाई प्राथमिकतामा राखिनुले मौलिक खेलहरूको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने योजकहरूको भनाइ छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गतेदेखि धनकुटा सदरमुकामको बिहीबारे हाटमा सुरु भएको महोत्सव बुधबार समापन हुनेछ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully