सग्राँतीमा ६७ वर्षदेखि लाग्दै आएको मदन मेला वैसाख ५ देखि

आठराई गाउँपालिकामा रहेको सग्राँती बजारमा लाग्ने मेलामा पुरुष तथा महिला फुटबल, भलिबल, ब्याडमिन्टन, बुद्धिचाललगायत खेलकुद तथा धान नाच, लोक दोहोरी, नृत्य, कविता गोष्ठीसहितका कार्यक्रम हुनेछन् ।

वैशाख १, २०८३

आनन्द गौतम

The Madan Mela, which has been held for 67 years in Sagranti, will begin from Baisakh 5.

What you should know

ताप्लेजुङ — तेह्रथुमको सग्राँती बजारमा २०१५ सालदेखि लाग्दै आएको मदन मेला यस वर्ष वैसाख ५ देखि हुने भएको छ ।

आठराई गाउँपालिकामा रहेको सग्राँती बजारमा लाग्ने मेलामा पुरुष तथा महिला फुटबल, भलिबल, ब्याडमिन्टन, बुद्धिचाललगायत खेलकुद तथा धान नाच, लोक दोहोरी, नृत्य, कविता गोष्ठीसहितका कार्यक्रम हुनेछन् ।

मदन मेला व्यवस्थापन समितिका अध्यक्ष टाँसी लामाका अनुसार त्रिमोहन माविको मैदानमा हुने मेला १२ गते सकिने छ । ‘खेलकुद क्षेत्रमा युवाको सहभागिता, अनुशासन, विकास र गतिशीलता’ भन्ने नारासहित आयोजित मेलामा वैसाख ९ को साँझ राष्ट्रिय कलाकारको जमघट हुने मेला व्यवस्थापन समितिका सचिव युवराज इङनामले जानकारी दिए । प्रतियोगितात्मकबाहेकका दर्जनौं कार्यक्रम हुने आयोजकले जनाएको छ । 

पुरुष फुटबल प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला फुटबल तथा पुरुष भलिबलका विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजारका दरले पुरस्कार पाउने छन् ।

खुला ब्याडमिन्टनका विजेताले ३५ र उपविजेताले २५, तृतीयले २० हजार तथा आठराई गाउँपालिका स्तरीय प्रतियोगिताका विजेताले १५, उपविजेताले १० र तेस्रो हुनेले ८ हजार पाउने छन् ।

धान नाच प्रतियोगिताका विजेताले २५, द्वितीयले १५, तृतीयले १० र सहभागीले ५ हजारका दरले सान्त्वना पुरस्कार पाउने अध्यक्ष लामाले जानकारी दिए ।

नृत्य प्रतियोगिताका विजेताले २०, उपविजेताले १५, तृतीयले १० हजार, कविता प्रतियोगिताका विजयीले ३, उपविजेताले २ र तृतीयलाई १ हजार तथा लोकदोहोरीतर्फ प्रथमले १०, द्वितीयले ८ र तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्ने सचिव युवराजले जानकारी दिए । मेलामा स्थानीय संस्कृति झल्कने कार्यक्रम पनि समावेश गरिने आयोजकले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully