गुराँस संरक्षणमा जन्तेढुंगा गाउँपालिका

लाली गुराँस मासिने सम्भावना बढेपछि उक्त गाउँपालिकाले गत शुक्रबार सूचनासमेत जारी गरी संरक्षणका लागि अनुरोध गरेको छ ।

वैशाख १, २०८३

डम्बरसिं राई

Jantedhunga Rural Municipality in Gurans Conservation

खोटाङ — जन्तेढुंगा गाउँपालिका लाली गुराँस संरक्षणमा जुटेको छ । दाउरा प्रयोगले लाली गुराँस लोप हुने अवस्थामा पुगेको भन्दै पालिका संरक्षणमा जुटेको हो ।

उक्त गाउँपालिकाको लेकाली क्षेत्रमा प्रशस्त गुराँस पाइने र पछिल्लो अवधिमा दाउरा–घाँस गर्ने क्रममा नष्ट भएको पाइएकाले संरक्षण सुरु गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् । उनका अनुसार धार्मिक तथा पर्यटकीय जन्तेढुंगा, होङ्मा पोखरी लगायतका क्षेत्रमा गुराँसको विरुवा रोपिएको छ ।

‘लेकाली क्षेत्रमा पाइने लाली गुराँस पछिल्लो अवधिमा नष्ट भएको भन्ने जानकारी आएपछि संरक्षण गर्नुपर्छ भनेर लागेका छौं,’ राईले भनिन्, ‘गुराँस लोप हुने सम्भावना भएपछि जन्तेढुंगा, होङ्मा पोखरी क्षेत्रमा गुराँसका बिरुवा रोपिएको छ ।’

लाली गुराँस मासिने सम्भावना बढेपछि उक्त गाउँपालिकाले गत शुक्रबार सूचनासमेत जारी गरी संरक्षणका लागि अनुरोध गरेको छ । दाउरा–घाँस गर्दा लाली गुराँसको विरुवामा क्षति पुगेको जनाउँदै यसको अस्तित्वसमेत संकटमा परेकाले गुराँसका हाँगा नभाँच्न, फूल नटिप्न र विरुवामा क्षति नपुर्‍याउन सूचनामा उल्लेख गरिएको छ । 

नेपालको वन ऐन, २०७६ तथा नियमावली २०७९ मा लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रूख काटेको पाइएमा ५ वर्षसम्म कैद सजाय तथा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully