संखुवासभामा ४ हजार चल्ला नष्ट

बर्डफ्लु संक्रमित क्षेत्र मोरङको बुढीगंगास्थित भिजु पोल्ट्री फर्मबाट चल्ला ल्याएको पुष्टि भएपछि तत्काल नष्ट गरिएको हो

वैशाख १, २०८३

दीपेन्द्र शाक्य

4,000 chicks destroyed in Sankhuwasabha

संखुवासभा — कोशी प्रदेशमा फैलिँदै गएको बर्डफ्लु संक्रमण नियन्त्रणका लागि संखुवासभा प्रतिबन्धित क्षेत्रबाट अवैध रूपमा ल्याइएका ४ हजारभन्दा बढी  चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

जिल्ला प्रशासन, सुरक्षा निकाय तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त पहलमा तीन वटा गाडीमार्फत ल्याइएका ४ हजार १ सय चल्ला नियन्त्रणमा लिइएको थियो। ती चल्ला बर्डफ्लु संक्रमित क्षेत्र मोरङको बुढीगंगास्थित भिजु पोल्ट्री फर्मबाट ल्याइएको पुष्टि भएपछि तत्काल नष्ट गर्ने निर्णय गरिएको हो।

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्यका चल्ला सार्वजनिक स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नष्ट गरिएको हो। 'संक्रमण फैलिने उच्च जोखिम भएकाले कुनै पनि सम्झौता नगरिकन कडा निर्णय लिइएको हो,' उनले भने ।

बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक, निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा संक्रमण पुष्टि भइसकेकोले उच्च सतर्कता अपनाइएको छ।

समितिले प्रतिबन्धित क्षेत्रबाट पशुपन्छी ओसारपसार नगर्न कडा चेतावनी दिएको छ। नियम उल्लंघन गर्नेहरूलाई कानुन अनुसार कडा कारबाही गरिने समेत जनाएको छ।

पशु सेवा विज्ञ केन्द्रले किसान तथा व्यवसायीलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रतिबन्धित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तु नल्याउन अपिल गरेको छ।  बर्डफ्लुजस्तो संक्रामक रोग फैलिन नदिन सबै सरोकारवालाको सचेतता र सहकार्य अपरिहार्य रहेको पोखरेलले बताए । 

दीपेन्द्र

Link copied successfully