कोप्चे पुनर्जागरणका लागि बिहीबारे हटियामा ‘कोप्चे फेस्टिभल’ ‍

आगामी चैत ३० देखि वैशाख २ सम्म बिहीबारे हटियामा 'मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन' भन्ने नारासहित कोप्चे फेस्टिभलको चौथो संस्करण आयोजना गर्न लागिएको हो।

चैत्र २८, २०८२

विनोद घिमिरे

'Kopche Festival' to be held in Hatia on Thursday for Kopche revival

What you should know

धनकुटा — ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको धनकुटाको तल्लो र माथिल्लो कोप्चे क्षेत्र समेटेर ‘कोप्चे फेस्टिभल’ आयोजना गरिने भएको छ।

करिब २५० वर्षसम्म पूर्वको प्रशासनिक केन्द्रको रूपमा परिचित धनकुटामा पछिल्लो समय घट्दो चहलपहल र आर्थिक गतिविधिलाई पुनर्जीवित गर्न स्थानीय युवाले कोप्चे पुनर्जागरण अभियान सञ्चालन गर्दै आएका छन्।

सोही अभियान अन्तर्गत आगामी चैत ३० देखि वैशाख २ सम्म बिहीबारे हटियामा 'मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन' भन्ने नारासहित कोप्चे फेस्टिभलको चौथो संस्करण आयोजना गर्न लागिएको हो।

अभियानका सचिव उज्ज्वल कर्माचार्यका अनुसार मौलिकता संरक्षण गर्दै पर्यटकीय विकासमार्फत आर्थिक तथा सामाजिक रूपान्तरण ल्याउने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। उनले उत्सवमार्फत स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परा तथा मौलिक खानाको प्रवर्द्धन गरिने जानकारी दिए।

फेस्टिभलमा विभिन्न जातीय समुदायका सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुति, मौलिक खानाका स्टल, धनकुटाका पुराना तस्बिरहरूको प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ। साथै, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका उपायबारे अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ। कार्यक्रम सफल बनाउन सात वटा उपसमिति गठन गरिएका छन् भने उत्सव अवधिभर करिब २० वटा स्टल सञ्चालन हुनेछन्।

यस्तै, मौलिकताको संरक्षण र प्रवर्द्धनका लागि सञ्चालन भइरहेको ‘जीवन्त हाडीगाउँ अभियान’सँग पनि फेस्टिभललाई जोडिने बताइएको छ। अभियानका उपाध्यक्ष रिदम श्रेष्ठले सबै जातीय, लैंगिक, धार्मिक तथा भौगोलिक समुदायलाई समेटेर उत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

आयोजकका अनुसार ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण गर्दै धनकुटालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully