चित्रकलाबाट आत्मनिर्भर बन्ने बाटोमा ३३ वर्षीय युवा

१२ वर्षदेखि चित्रकलामा सक्रिय धरान–१६ का एलेन शाक्यले पौवा आर्ट ग्यालरी सञ्चालन गर्दै प्रशिक्षकको भूमिका समेत निर्वाह गर्दै आएका छन्।

चैत्र २८, २०८२

एलिना राई

33-year-old on the path to becoming self-reliant through painting

What you should know

धरान — धरान उपमहानगरपालिका–१६ का ३३ वर्षीय एलेन शाक्यले आफ्नो रुचिलाई व्यवसायमा रूपान्तरण गरेर आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छन्। १२ वर्षदेखि चित्रकलामा सक्रिय शाक्य अहिले ‘पौवा आर्ट ग्यालरी’ सञ्चालन गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन्।

बाल्यकादेखि नै चित्र बनाउन रुचि राख्ने शाक्यले आफ्नो सीपलाई समयसँगै निखार्दै लगे। सुरुका दिनमा उनले सामान्य स्केच र साना चित्र बनाउँदै अनुभव बटुले। विस्तारै चित्रकलामा आत्मविश्वास बढ्दै जाँदा यसलाई पेशाको रूपमा अंगाल्ने निर्णय गरेको उनी बताउँछन् । त्यसपछि ग्यालरी स्थापना गरी आफ्नो कला सार्वजनिक रूपमा प्रस्तुत गर्न थालेको उनले बताए ।

धरान–१६ को जनपथ चोकमा रहेको ‘पौवा आर्ट ग्यालरी’ अहिले स्थानीय कला प्रेमीका लागि आकर्षणको केन्द्र बनेको छ। ग्यालरीमा एक्रेलिक पेन्टिङ, वाटर कलर, स्केचलगायत विभिन्न विधाका चित्र प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। प्रत्येक चित्रमा कलाकारको भावना, अनुभव र सन्देश झल्किने भएकाले ग्राहकमा यसको आकर्षण बढ्दै गएको छ।

चित्रहरूको मूल्य क्यानभसको आकार, प्रयोग गरिएको रंग र बनावट अनुसार फरक–फरक हुने शाक्य बताउँछन् । उनका अनुसार सामान्यतया क्यानभसको मूल्य ५ सय रुपैयाँदेखि सुरु हुन्छ भने तयार चित्रहरू १५ सयदेखि ५० हजार रुपैयाँ भन्दा माथिसम्म बिक्री हुने गरेका छन् । विशेषगरी एक्रेलिक पेन्टिङका चित्रहरू ८ हजार रुपैयाँबाट सुरु हुने उनले बताए। उनले ग्राहकको माग अनुसार विशेष अर्डरमा पनि चित्र बनाउने गरेका छन् ।  

शाक्यका अनुसार पछिल्लो समय चित्रको बजार विस्तार हुँदै गएको छ। पहिले स्थानीय स्तरमै सीमित रहेको माग अहिले काठमाडौं, पोखरालगायत पश्चिमका विभिन्न सहरमा पनि बढ्दो छ। उनले सामाजिक सञ्जाल र प्रदर्शनीहरूको माध्यमबाट आफनो कलाको प्रचार गर्दै आएका छन्, जसले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।

शाक्य कलाकार मात्र नभई एक दक्ष प्रशिक्षक पनि हुन् । हाल उनी २५ जना विद्यार्थीलाई चित्रकला सिकाइरहेका छन्। ग्यालरीमार्फत एक्रेलिक पेन्टिङ, वाटर कलर लगायतका विभिन्न विधामा ६ महिने र ८ महिने कोर्स सञ्चालन गरिरहेको शाक्यले बताए । उनले कोर्षको ८ हजार देखि १० हजार रुपैयाँ लाग्ने बताए । चित्रकला सिक्नेहरू बालबालिकादेखि युवासम्म रहेको उनले बताए । ‘कला भनेको केवल चित्र बनाउने सीप मात्र होइन, यो सोच्ने तरिका हो, ’ उनले भने, ‘चित्रकलाले मानिसमा धैर्यता, अनुशासन र सिर्जनात्मक सोच विकास गर्छ ।’ विद्यार्थीहरूलाई केवल प्रविधि मात्र नभई कला प्रति सम्मान र समर्पण सिकाउने प्रयास गरिरहेको उनले बताए ।

विशेषगरी बालबालिकालाई कलासँग जोड्न सके उनीहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्न सकिने शाक्यको भनाइ छ। 'यदि बालबालिकाले सानै उमेरदेखि कला सिके भने उनीहरू दुर्व्यसन र गलत बाटोबाट टाढा रहन्छन्,' उनी भन्छन्।

कला शिक्षाले सिर्जनात्मक सोच, आत्मविश्वास र अनुशासन विकास गर्न मद्दत गर्ने भएकाले यसको महत्व अझ बढ्दै गएको उनले बताए। ‘कला केवल मनोरञ्जन मात्र होइन, यो रोजगारी र आत्मनिर्भरताको माध्यम पनि हो,’ उनले भने ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully