चाँडका अवसरमा धनकुटाको बिहीबारे हाटस्थित मार्गाथानमा विशेष अनुष्ठान तथा भूमिपूजा समेत गर्ने चलन छ।
धनकुटा — धनकुटामा मात्रै बसोबास गर्दै आएका सिमान्तकृत किराँत आठपहरिया समुदायको वर्षको पहिलो तथा सबैभन्दा ठूलो पर्व ‘बिशु’ (बैशाखे चाड) सुरु भएको छ।
किराँत आठपहरिया समुदायमा बिशु वर्ष प्रमुख चाँडका रूपमा मनाइन्छ। यस अवसरमा उनीहरूले आफ्ना दिवंगत पुर्खाहरूको सम्झनामा पितृपूजा गर्ने परम्परा रहेको छ। पुर्खाहरूको आत्माको उद्धार र कल्याणको कामना गर्दै विशेष विधिसहित पूजा गर्ने गरिन्छ।
चाँडका अवसरमा धनकुटाको बिहीबारे हाटस्थित मार्गाथानमा विशेष अनुष्ठान तथा भूमिपूजा समेत गर्ने चलन छ। यस क्रममा समुदायका अगुवा तथा पूजारीहरूको सहभागितामा धार्मिक विधि सम्पन्न गरिन्छ।
बिशु पर्वपछि आठपहरिया समुदायले भदौ र मंसिर महिनाको पूर्णिमामा समेत महत्वपूर्ण चाडहरू मनाउने परम्परा कायम राखेका छन्।
धनकुटामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार हाराहारीमा रहेको अनुमान छ। आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउँदै आएको यो समुदायले बिशु पर्वलाई विशेष उत्साहका साथ मनाउने गरेको छ।
