संघले ढिलो ‘सिलिङ’ पठाउँदा बल्ल बजेट निर्माणमा जुट्यो कोशी सरकार

यस वर्ष संघीय सरकारले बजेट सीमा ढिला पठाउँदा कोशी प्रदेशमा बजेट निर्माण प्रक्रिया निर्धारित समयभन्दा १० दिनपछि मात्र प्रारम्भ भएको छ।

चैत्र २६, २०८२

पर्वत पोर्तेल

Koshi government finally starts budget preparation after association sends 'ceiling' late

What you should know

विराटनगर — संघीय सरकारवाट  बजेट सीमा (सिलिङ) १० दिन ढिलो प्राप्त भएपछि कोशी प्रदेशमा बल्ल वजेट निर्माण प्रक्रिया सुरु भएको छ ।

प्रदेश सरकारले चैत १५ भित्र प्रक्रिया सुरु भइसक्नु पर्ने थियो । तर, यसपाली संघीय सरकारबाट सिलिङ ढिलो गएपछि चैत तेस्रो साता बितिसक्दा बल्ल प्रक्रिया सुरु हुन लागेको छ । ‘१० दिन ढिलो गरी सिलिङ प्राप्त अब प्रक्रिया अघि बढ्छ,’ कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता सुशील बास्तोलाले भने।   

प्रदेश सरकारको बजेट निर्माण पक्रिया पुस मसान्तबाटै सुरु हुने गरेको छ । पहिलो चरणमा प्रदेश सरकारले आफ्नो अनुमानित आय–व्ययको विवरण अर्थ मन्त्रालय र वित्त आयोगमा पेश गर्छ । सँगै मध्यकालीन खर्च संरचना तयार भइसकेको हुन्छ, जसमा आगामी तीन वर्षसम्मको सम्भावित आयको प्रक्षेपण गरिएको हुन्छ ।  २०८२/०८३ को बजेट बनाउँदा ०८३/०८४ र ०८४/०८५ मा कति आम्दानी हुन सक्छ भन्ने अनुमान मध्यकालीन खर्च संरचनामा गरिन्छ । 

मन्त्रालयका प्रवक्ता बास्तोलाका अनुसार यो प्रारम्भिक प्रक्रिया पूरा भएपछि बजेट चक्र अघि बढ्छ । माघ महिनामा संघीय सरकारसँग समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव माग गरिन्छ । संघीय सरकारले सूचना जारी गरेपछि आवश्यक कागजातसहित प्रस्ताव पेश गरिन्छ, जसको अन्तिम निर्णय संघीय मन्त्रिपरिषद्ले गर्छ ।

त्यसैगरी प्रदेश सरकारले पनि स्थानीय तहलाई विभिन्न शीर्षकमा अनुदान वितरण गर्ने प्रक्रिया अघि बढाउँछ । फागुनमा समपूरक र समानीकरण अनुदानका लागि सूचना आह्वान गरिन्छ र स्थानीय तहहरूले प्रस्ताव दर्ता गर्छन् । यहीँ समयमा राजश्व परामर्श समितिको बैठक बसेर विभिन्न विषयगत समितिहरू गठन गरिन्छ ।

‘पर्यटन, यातायात, मालपोतलगायतका क्षेत्रबाट कति राजश्व उठाउन सकिन्छ र कुन क्षेत्रमा कर लगाउने भन्ने विषयमा यी समितिहरूले अध्ययन गर्छन्’, बास्तोला भन्छन्,‘अर्थ सचिवको अध्यक्षतामा रहेको राजश्व परामर्श समितिले समग्र कामको समन्वय गर्छ र वैसाख १५ भित्र प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।’

उनका अनुसार चैत महिनामा भने बजेट निर्माणको महत्वपूर्ण चरण सुरु हुन्छ । यस अवधिमा स्थानीय तहलाई दिने समानीकरण अनुदान, राजश्व बाँडफाँट तथा सवारी करको हिस्साबारे निर्णय गरिन्छ । प्रदेशले उठाएको सवारी करमध्ये ६० प्रतिशत आफैं राख्छ भने बाँकी स्थानीय तहलाई बाँडफाँड गर्छ ।

बास्तोला भन्छन्,‘समानीकरण अनुदान निर्धारणका लागि स्रोत अनुमान तथा खर्च सीमा निर्धारण समितिको बैठक बस्नुपर्छ । समितिले समग्र आर्थिक अवस्था मूल्यांकन गरी कति बजेट छुट्याउन सकिन्छ भन्ने सीमा तय गर्छ । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छ र स्वीकृति पाएपछि मात्र वित्त आयोगमा पठाइन्छ ।’ आयोगले स्थानीय तहलाई दिने बजेटको पनि टुंगो लगाउने उनले बताए । यो सम्पूर्ण प्रक्रिया चैत मसान्तभित्र सक्नुपर्ने प्रवक्ता बास्तोलाले बताए । 

संघीय अनुदान र आन्तरिक राजश्वको आधारमा स्रोत अनुमान तथा खर्च सीमा निर्धारण समितिले अन्तिम सीमा तय गरेर मन्त्रालयहरूलाई पठाउँछ । त्यसपछि मन्त्रालयहरूले ‘प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली’ मार्फत आफ्नो बजेट प्रविष्टि गर्छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully