भेडेटारबाट उद्धार गरिएको रतुवा टिएमजे क्षेत्रमा छाडिने

डिभिजन वन कार्यालय धनकुटाले उक्त रतुवा मृगलाई उद्धार गरी सात महिनासम्म संरक्षणमा राखेर उपचार तथा स्याहार गर्दै आएको थियो।

चैत्र २४, २०८२

विनोद घिमिरे

Ratuwa rescued from Bhedetar to be released in TMJ area

धनकुटा — धनकुटाको भेडेटार क्षेत्रबाट सात महिनाअघि उद्धार गरिएको रतुवा मृगलाई उपचार र पालनपोषणपछि तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा छाडिने भएको छ।

डिभिजन वन कार्यालय धनकुटाले असहाय अवस्थामा फेला परेको उक्त रतुवा मृगलाई उद्धार गरी सात महिनासम्म संरक्षणमा राखेर उपचार तथा स्याहार गर्दै आएको थियो।

कार्यालयका प्रमुख सञ्जीवराज ढकालका अनुसार मृग अहिले पूर्णरूपमा स्वस्थ भइसकेको र प्राकृतिक वातावरणमा बाँच्न सक्षम भएकाले टिएमजे क्षेत्रमा पुनःस्थापना गर्न लागिएको हो।

उनका अनुसार अन्य जंगल क्षेत्रमा छाड्दा फेरि वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहने भएकाले सुरक्षित र उपयुक्त बासस्थानका रूपमा टिएमजे क्षेत्र रोजिएको हो। जैविक विविधता र उपयुक्त आवासका कारण टिएमजे क्षेत्र वन्यजन्तु संरक्षणका लागि महत्वपूर्ण मानिन्छ।

डिभिजन वन कार्यालयले वन्यजन्तु उद्धार, उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully