‘अज्ञात रोग’ ले खोटाङका दुई पालिकामा माहुरी सखाप

खोटाङमा मात्र नभई अन्य जिल्लाहरूमा पनि यसरी नै माहुरी मरेको माहुरी विकास केन्द्र, गोदावरी, ललितपुरकी अधिकृत सुरक्षा सुवेदीले बताएकी छन्

चैत्र २३, २०८२

डम्बरसिं राई

'Unknown disease' wipes out bees in two municipalities of Khotang

खोटाङ — खोटाङका दुई स्थानीय तहमा अज्ञात रोगले माहुरी मरेर सखाप भएको छ । ऐसेलुखर्क र रावाबेसी गाउँपालिकामा किसानले पालेको सेराना जातको माहुरी अज्ञात रोगले मरेर सखाप भएको हो ।

सेराना जातको माहुरी लेक–बेसी उधौली–उभौली बसाइँ सर्दै विचरण गर्ने गर्दछ । ऐसेलखर्क गाउँपालिका १ राखावाङ्देल, २ बाकाचोल, ३ ऐसेलखर्क र ६ ज्यामिरेका किसानले पालेको माहुरी सखाप भएको उक्त गाउँपालिकाका पशु शाखाका प्रमुख प्रमोद राजभण्डारीले बताएका छन् ।

उनका अनुसार उक्त गाउँपालिकामा एक सय ११ घार माहुरी मरेर नष्ट भएको छ । उक्त गाउँपालिका–१ राखावाङदेलमा ४० घार, २ बाकाचोलमा २० घार, ३ ऐसेलुखर्कमा ३१ घार, ६ ज्यामिरेमा १९ माहुरी नष्ट भएको हो । त्यस्तै वडा नं ४ जलेश्वरी, ५ महेश्वरी र ७ माक्पामा पनि फाट्टफुट्ट मरेको राजभण्डारीले सुनाएका छन् । यसबाहेक अन्य ठाउँमा पनि माहुरी मरेको र त्यसको विवरण आइनसकेको राजभण्डारीले सुनाएका छन् । 

सुरूमा चल्मलाउन नसक्ने, उड्न नसक्ने लक्षण देखिएको थियो । त्यसपछि घारभित्रै मरेर नष्ट भएको किसानहरूले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका रामकुमार राईले बताएका छन् । ‘सुरूमा त जाडोले गर्दा बाहिर ननिस्किएको होला भनियो, धेरै नै चल्मलाउन र बाहिर देखिन छाडेपछि घार खोलेर हेर्दा मरेर सखाप भइसकेको रहेछ,’ राईले भने, ‘यो अज्ञात रोगले ७ घार माहुरी सखाप भयो ।’

त्यस्तै रावाबेसी गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि माहुरीमा समस्या देखिएको कृषि शाखा प्रमुख शरण हमालले बताएका छन् । उनका अनुसार उक्त गाउँपालिका–१ कुभिण्डेको माथिल्लो क्षेत्र दम्कु, २ खार्पाको माथिल्लो क्षेत्र रुभुङ लगायतका १३–१४ सय मिटर उचाइमा माहुरीमा रोग देखिएको हो । कुन रोग हो भन्ने विषयमा अनुगमन गरेर मात्र थाहा हुने हमालले जनाएका छन् । ‘रावाबेसी गाउँपालिकाको माथिल्लो क्षेत्रमा माहुरी मरेको भन्ने जानकारी आएको छ,’ हमालले भने, ‘फिल्डमा गएर अनुसन्धान गरेपछि कुन रोगले मरेको भन्ने थाहा हुन्छ ।’ 

माहुरी मरेको बारेमा किसानले जानकारी गराउनासाथ जिल्लास्थित कृषि ज्ञानकेन्द्र र माहुरी विकास केन्द्रसँग परामर्श लिँदा लगातारको पानी, विषजन्य फूलको रस, रासायनिक विषादीलगायतका कारणले मरेको हुनसक्ने बताएको राजभण्डारीले जनाएका छन् । सेराना जातको माहुरीलाई प्राकृतिक रूपमा फुलेको फूलले खासै असर नगर्ने भएकाले यो पटक माहुरीमा महामारी आएको हुन सक्ने किसानहरूको भनाइ छ । 

खोटाङमा मात्र नभई अन्य जिल्लाहरूमा यो रोग देखिएको माहुरी विकास केन्द्र, गोदावरी, ललितपुरकी अधिकृत सुरक्षा सुवेदीले बताएकी छन् । ‘पूर्वी पहाडी जिल्लाहरूका साथै सिन्धुली, रसुवा, कास्की, गोर्खा, लमजुङलगायतका जिल्लाहरूमा पनि माहुरीमा यो रोग देखिएको छ,’ सुवेदीले भनिन्,यो भाइरसले गर्दा यस्तो भएको हो, कुन भाइरस भन्ने चाहिँ हाम्रो साथीहरू गोर्खाको फिल्डमा हुनुहुन्छ आएपछि थाहा हुन्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully