दलित महिला संघ धनकुटाकी अध्यक्ष लक्ष्मी परियारले अधिकार प्राप्तिका लागि दलित महिलाहरूले आफू बोल्नुपर्नेमा जोड दिइन् । संविधानमा भएका अधिकारबारे जानकारी अभावका कारण पनि महिलाहरू पछाडि परेको उनको भनाइ थियो।
धनकुटा —
दलित महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उद्यमशीलतासँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
धनकुटा नगरपालिकाको सहयोग तथा दलित महिला संघ धनकुटाको आयोजनामा सोमबारदेखि धनकुटामा सुरु भएको दलित महिला सशक्तीकरण कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले दलित महिलाहरू घरभित्र सीमित हुँदा अवसरबाट वञ्चित भएको उल्लेख गर्दै अब उनीहरूलाई विभिन्न सिपमूलक तथा रोजगारमूलक तालिममार्फत उद्यमशीलतासँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
दलित महिला संघ धनकुटाकी सचिव कोपिला शंकरले अन्याय र पीडामा परेका दलित महिलाहरू खुलेर बोल्न नसक्दा अझै पछि परेको बताइन् । उनले धेरैजसो महिला पुरुषमा निर्भर हुने प्रवृत्तिका कारण आत्मनिर्भर बन्न सकेको जनाइन् ।
संघकी अध्यक्ष लक्ष्मी परियारले अधिकार प्राप्तिका लागि दलित महिलाहरूले आफू बोल्नुपर्नेमा जोड दिइन् । संविधानमा भएका अधिकारबारे जानकारी अभावका कारण पनि महिलाहरू पछाडि परेको उनको भनाइ थियो। 'पाउने अधिकार के-के हुन्, त्यसबारे सचेत भई सशक्त रूपमा अगाडि बढ्न जरुरी छ,' उनले भनिन् ।
कार्यक्रममा दलित महिलालाई उद्यमशीलतामा जोड्न गैरदलित समुदायको समेत सहयोग आवश्यक रहने धारणा व्यक्त गरिएको थियो। साथै, दलित महिलामा युवा नेतृत्व विकास गरी नडराई अघि बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिइयो।
यस्तै, यौन हिंसा तथा बलात्कारका घटनाहरू बढ्दो क्रममा रहे पनि पीडितहरूले आवाज नउठाउँदा धेरै घटना गुपचुप हुने गरेकामा चिन्ता व्यक्त गरिएको छ। वक्ताहरूले यस्ता घटनाविरुद्ध खुला रूपमा बोल्न र न्यायका लागि अघि बढ्न आग्रह गरेका छन्।
