धनकुटामा विपन्न र भूमिहीनलाई उद्यममा जोड्न लगत संकलन

नगरपालिकाले भूमिहीन आठपरिया समुदाय तथा गरिबीको सूचकांकमा रहेका परिवारको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने उद्देश्यले अभियान अघि बढाएको हो।

चैत्र २१, २०८२

विनोद घिमिरे

Data collection to connect the poor and landless to enterprises in Dhankuta

What you should know

धनकुटा — धनकुटा नगरपालिकाले अति विपन्न तथा सीमान्तकृत नागरिकको जीविकोपार्जन सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लगत संकलन गरिरहेको छ।

नगरपालिकाले भूमिहीन आठपरिया समुदाय तथा गरिबीको सूचकांकमा रहेका परिवारको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने उद्देश्यले अभियान अघि बढाएको हो।

नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार भूमिहीन, विपन्न तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूलाई उद्यमशीलतामा जोड्ने योजना अन्तर्गत लगत संकलन थालिएको हो। लगत संकलनपछि लाभग्राहीलाई विभिन्न १२ प्रकारका उद्यम तथा सीप विकास तालिम प्रदान गरेर उनीहरूलाई उद्यमी बनाइने अधिकारीले बताए ।

कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ सालमा वितरण गरेको गरिब परिवार परिचयपत्रका आधारमा सञ्चालन गरिनेछ। सोही आधारमा भूमिहीन, अति विपन्न परिवार र सीमान्तकृत आठपरिया समुदायलाई लक्षित गरी कार्यक्रम अघि बढाइने नगरपालिकाले जनाएको छ।

अहिले धनकुटा नगरपालिकाका सबै १० वडामा लगत संकलन भइरहेको छ। संकलित विवरणका आधारमा गरिबीको रेखामूनि रहेका नागरिकलाई स्थानीय स्रोतसाधनमा आधारित उद्यममा संलग्न गराउने योजना नगरपालिकाको छ। हस्तकला, स्थानीय उत्पादन, ड्राइभिङ, कुक, पर्यटन, ब्युटी पार्लर, लोकसेवा तयारी लगायतका १२ विधामा आवश्यकताअनुसार तालिम सञ्चालन गरिने छ।

त्यसैगरी कृषि तथा पशुपालनमा संलग्न गराउन उन्नत जातका बिउ, बिरुवा, औजार–उपकरण वितरण गर्ने तयारी गरिएको छ। लगत संकलन सम्पन्न भएपछि लाभग्राही समूह गठन गरी कार्यक्रम कार्यान्वयनमा ल्याइने नगरपालिकाले उनले जनाए ।

कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा १ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय सरकारको विशेष अनुदानबाट प्राप्त उक्त रकमले भूमिहीन, अति विपन्न तथा सीमान्तकृत समुदायलाई आयआर्जनमा जोड्ने लक्ष्य राखिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully