कोशीका पहाडी जिल्लामा बर्ड फ्लु भित्रिन नदिन भेडेटारमा कडाइ

जिल्ला प्रशासन कार्यालय धनकुटाले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाउँदै निगरानी बढाएको हो ।

चैत्र २०, २०८२

विनोद घिमिरे

Strict measures in Bhedetar to prevent bird flu from entering Koshi hilly districts

धनकुटा — तराईका जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि कोशीका पहाडी जिल्लामा फैलावट रोक्न धनकुटाको भेडेटार नाकामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाउँदै निगरानी बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार झापा, मोरङ र सुनसरीमा संक्रमण देखिएपछि सतर्कता अपनाइएको हो । 'संक्रमण फैलिन नदिन भेडेटार नाकामा कडाइ गरिएको छ,' उनले बताए ।

भेडेटार नाका हुँदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ तथा तमोर–कावेली करिडोरमार्फत पाँचथर र ताप्लेजुङसम्म कुखुरा ओसारपसार हुने गरेको छ । यही मार्ग प्रयोग गरेर अवैध रूपमा कुखुरा भित्रिन सक्ने जोखिम बढेपछि निगरानी कडा पारिएको प्रशासनले जनाएको छ ।

धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले पशुसेवा विभागबाट जारी निरोगिताको प्रमाणपत्र र सिफारिस नभएका कुखुरा, हाँस र अण्डा भित्रिन नदिइएको जानकारी दिए । 'इटहरीको नाममा भारतलगायतका स्थानबाट कुखुरा ल्याउने प्रयास हुने गरेको पाइएको छ, निरोगिताको प्रमाणपत्र र सिफारिसबिना कुखुरा भेटिए फर्काइन्छ,' उनले भने ।

जाँचका लागि भेडेटारमा पशु स्वास्थ्य प्राविधिकसहित प्रहरी टोली परिचालन गरिएको छ । साथै साँगुरीगढी गाउँपालिकाले पनि पशुपन्छी स्वास्थ्य प्राविधिक खटाएर निगरानी बढाएको जनाएको छ । गाउँपालिकाका योजना शाखा प्रमुख द्रोण राईले स्थानीय तह र प्रहरीको संयुक्त टोलीले नियमित जाँच गरिरहेको जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully