धनकुटामा ५ सय ३१ जोखिमयुक्त रूख हटाइने

जिल्ला विपद् व्यवस्थापन समितिले कोशी राजमार्ग अन्तर्गत धनकुटा–हिले खण्ड, सरकारी कार्यालय परिसर तथा आवासीय क्षेत्रमा रहेका ५ सय ३१ वटा जोखिमयुक्त रूख हटाउने निर्णय गरेको हो।

चैत्र २०, २०८२

विनोद घिमिरे

531 risky trees to be removed in Dhankuta

What you should know

धनकुटा — जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाले जिल्लाका विभिन्न स्थानमा हावाहुरीको जोखिममा रहेका रूख हटाउने निर्णय गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको समितिको बैठकले कोशी राजमार्ग अन्तर्गत धनकुटा–हिले खण्ड, सरकारी कार्यालय परिसर तथा आवासीय क्षेत्रमा रहेका ५ सय ३१ वटा जोखिमयुक्त रूख हटाउने निर्णय गरेको हो।

डिभिजन वन कार्यालय धनकुटाले पहिचान गरी लगत तयार पारेका ती रूखहरू सल्लेरी राष्ट्रिय वन, कोशी राजमार्ग आसपास, नेपाली सेनाको भीमदल गण, २ नम्बर बाहिनी अड्डा हिले, जिल्ला आयुर्वेद उपचार केन्द्र तथा लोकसेवा आयोगलगायत क्षेत्रमा रहेका छन्।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार वन क्षेत्रभन्दा बाहिर चौतारा, बिसौना, सडक किनार, पानीका मुहान, धार्मिक स्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमयुक्त रूख तत्काल नहटाए जनधनको क्षति हुन सक्ने भएकाले नियमअनुसार हटाउने निर्णय गरिएको हो।

जोखिमयुक्त रूखहरूको विवरण डिभिजन वन कार्यालयका सहायक डिभिजनल अधिकृत धर्मनाथ यादवले बैठकमा प्रस्तुत गरेका थिए। वन क्षेत्रबाहिरका सरकारी तथा संस्थागत परिसरमा रहेका यस्ता रूख हटाउन वन सेवाका प्राविधिकबाट मूल्यांकन गराई सम्बन्धित कार्यालय प्रमुखको संयोजकत्वमा स्थानीय तह र नापी कार्यालयका प्रतिनिधि सम्मिलित समितिको सिफारिस आवश्यक पर्ने व्यवस्था रहेको छ।

डिभिजन वन कार्यालय धनकुटाका सहायक डिभिजनल वन अधिकृत धर्मनाथ यादवले सम्बन्धित कार्यालय र तहको सिफारिसमा जोखिमयुक्त रूख यकिन गरी मूल्यांकन गरेर कटान आदेश दिने बताए । गत चैत २ को राति आएको हावाहुरीका कारण धनकुटामा सडक, सार्वजनिक कार्यालय र निजी आवास क्षेत्रमा रहेका रूख ढल्दा ठूलो भौतिक क्षति भएको थियो।

उक्त घटनाबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धनकुटा बहुमुखी क्याम्पस, निजामती आवासीय भवन, प्रदेश संग्रहालय तथा जिल्ला अस्पतालका संरचनामा समेत क्षति पुगेको थियो। वर्षासँगैको हावाहुरीका कारण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको भवन सल्लाहका रुखले थिच्दा सभाहल निःशुल्क औषधि कक्ष ओपिडी भवन कार्यालय प्रमुखको कक्ष कम्पाउन्ड पर्खाल बिरामी बस्ने कक्ष लगायतका भौतिक संरचनामा क्षति पुगेको थियो।

त्यस्तै निजामती आवासीय विद्यालयको विद्यार्थी आवास भवनमाथि रुख भाँचिएर झर्दा ट्रस्ट फलामको रेलिङ तिनको छाना प्रतिक्षालय र विद्युतीय उपकरणमा क्षति पुगेको थियो। यस्तै धनकुटा बहुमुखी क्याम्पसको पुस्तकालय भवनको छानो शैक्षिक भवन क्याम्पस प्रमुखको कार्यकक्ष भृकुटी महिला छात्रावासको भान्सा बरणडा लगायतमा क्षति पुगेको थियो। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully