धनकुटाका तीन सडकमा खटिए नियमित मर्मत सम्भारकर्मी

प्रदेश सरकारलाई हस्तान्तरण भइसकेका सडकमा लामो समयदेखि नियमित मर्मतको अभाव हुँदा नाली पुरिने, पर्खाल भत्किने, झाडीले सडक ढाकिने जस्ता समस्या देखिएपछि ६ जना हेरालु नियुक्त गरिएको हो ।

चैत्र १८, २०८२

विनोद घिमिरे

Regular maintenance workers deployed on three roads in Dhankuta

धनकुटा — पूर्वाधार विकास कार्यालय धनकुटाले निर्माण सम्पन्न भइसकेका तीनवटा बहुवर्षीय सडकको नियमित मर्मत सम्भारका लागि हेरालु परिचालन गरेको छ।

पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलका अनुसार बिहीबारे हटिया–ताङखुवा–तेलिया–परेवा हुँदै तेह्रथुम जोड्ने करिब २३.५ किलोमिटर सडकमा दुई जना, गुठीटार–बागखोर–छिडी सडकको १० किलोमिटर खण्डमा दुई जना र हिले–उत्तरपानी–छिन्ताङ सडकको १० किलोमिटर खण्डमा दुई जना गरी ६ जना हेरालु नियुक्त गरिएको हो ।

प्रदेश सरकारलाई हस्तान्तरण भइसकेका यी सडकमा लामो समयदेखि नियमित मर्मतको अभाव हुँदा नाली पुरिने, पर्खाल भत्किने, झाडीले सडक ढाकिने जस्ता समस्या देखिँदै आएका थिए। यसले यातायात सञ्चालनमा कठिनाइ मात्र नभई दुर्घटनाको जोखिमसमेत बढाएको थियो। उनीहरूले सडक वरिपरिका झाडी सफा गर्ने, नाली, कल्भर्ट तथा पुलपुलेसा मर्मत र सरसफाइ गर्ने, साना पहिरो पन्छाउने, कच्ची नाली निर्माण गर्ने तथा चेतावनी संकेतहरू व्यवस्थित गर्नुपर्ने खरेलको भनाइ छ। यसका लागि आवश्यक खुर्पा, हेल्मेट, रेनकोट, गमबुट, पञ्जा, चस्मा लगायतका सुरक्षा सामग्री र प्राथमिक उपचार सामग्रीसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

हेरालुहरूले कामको मूल्याङ्कनका आधारमा मासिक १६ देखि २६ दिनसम्मको न्यूनतम दैनिक ७ सय ६० रुपैयाँका दरले पारिश्रमिक पाउनेछन्। साथै उनीहरूको ७ लाख रुपैयाँसम्मको दुर्घटना बिमासमेत गरिएको छ। सडक हेरालुको व्यवस्था भएसँगै अब ती सडकमा नियमित सरसफाइ र मर्मत हुने, वर्षायाममा हुने क्षति तत्काल व्यवस्थापन गर्न सकिने एवं सवारी आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully