पोष्ट प्रो सोलुसन प्रालिकी प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले उक्त मेडिकल उपकरण तथा सर्जिकल सामग्री प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
What you should know
धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोष्ट प्रो सोलुसन प्रालिले ४७ लाख ८ सय ८८ रुपैयाँ बराबरका मेडिकल सामग्री सहयोग गरेको छ ।
पोष्ट प्रो सोलुसन प्रालिकी प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले उक्त मेडिकल उपकरण तथा सर्जिकल सामग्री प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सामग्री प्रतिष्ठानको दैनिक उपचार सेवामा प्रयोग गरिने उपकुलपति श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठूलो स्वास्थ्य संस्थाका रूपमा रहेको प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चाप बढ्दो छ भने आर्थिक संकटका कारण कतिपय अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव पनि देखिँदै आएको छ । यस्तो अवस्थामा निजी क्षेत्रबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास लिइएको उनले बताए ।
आर्थिक अभावका कारण चुनौतीपूर्ण अवस्थामा रहेको संस्थालाई यस्ता सहयोगले प्रत्यक्ष रूपमा उपचार सेवामा टेवा पुग्ने उनले उल्लेख गरे । दाता पक्षका प्रतिनिधि बनेपालीले आफू धरानकै स्थायी बासिन्दा भएकाले आफ्नै ठाउँको गौरवका रूपमा रहेको प्रतिष्ठानलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रतिष्ठानको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अन्य मनकारी व्यक्ति तथा व्यवसायीहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आहृवान पनि गरे ।
कार्यक्रममा प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बु, कामु डेपुटी रजिष्ट्रार सागर ताम्राकार, इलेक्ट्रोमेड शाखाका प्रमुख इन्जिनियर राहुल मिश्रा, बायोमेडिकल शाखाका प्रमुख इन्जिनियर प्रदीप साह, डेपुटी मेट्रोन विष्णुमाया तामाङ, जेनेरल स्टोर प्रमुख महेश्वर राई, मेडिकल स्टोर प्रमुख संजीव कर्ण तथा अस्पताल प्रशासनका हाउसकिपिङ अफिसर मनोज यादवलगायतको उपस्थिति थियो ।
