पहिरोले इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।
इलाम — जिल्लाको रोङ गाउँपालिका–४ बागखोरस्थित मेची राजमार्गमा आइतबार साँझ सुक्खा पहिरो खस्दा ट्रक पुरिनुका साथै सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ ६ बजेतिर सडकभन्दा करिब ४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो झरेको हो ।
पहिरोले इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक र सह–चालकले हाम फालेर ज्यान बचाउन सफल भएका छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किटेनीबाट प्रहरी सहायक निरीक्षक यामचन्द्र कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
पहिरो झरेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउन आवश्यक पहल भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । यसैगरी मेची राजमार्गअन्तर्गत इलामकै जोरकलस–लसुने सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।
