४७ वर्षीया श्रेष्ठ विगत डेढ वर्षदेखि विराटनगरस्थित नोबेल अस्पतालमा नियमित डायलासिस सेवा लिँदै आएकी थिइन्। आर्थिक, भौगोलिक तथा पारिवारिक कठिनाइका कारण टाढा पुगेर उपचार गराउनु उनका लागि चुनौतीपूर्ण बनेको थियो।
संखुवासभा — संखुवासभाको खाँदबारीस्थित जिल्ला अस्पतालले पहिलोपटक हेमोडायलासिस सेवा सञ्चालन गरेको छ। शुक्रबार पहिलो पटक खाँदबारी नगरपालिका–९ की बोल्न नसक्ने बिरामी खुसकुमारी श्रेष्ठको सफल डायलासिस गरिएको छ।
४७ वर्षीया श्रेष्ठ विगत डेढ वर्षदेखि विराटनगरस्थित नोबेल अस्पतालमा नियमित डायलासिस सेवा लिँदै आएकी थिइन्। आर्थिक, भौगोलिक तथा पारिवारिक कठिनाइका कारण टाढा पुगेर उपचार गराउनु उनका लागि चुनौतीपूर्ण बनेको थियो। आफ्नै जिल्लामा सेवा उपलब्ध भएपछि उनले सहज रूपमा उपचार पाउने आशा लिएको श्रीमान्ले सुमन पराजुलीले बताए । 'मिर्गौला रोगीहरूका लागि नयाँ आशा जगाएको छ,' पराजुलीले भने, 'पहिलोपटक आफ्नै जिल्ला अस्पतालमा डायलासिस गराउँदा हामी निकै खुसी छौं ।'
जिल्ला अस्पताल खाँदबारीमा हेमोडायलासिस सेवा सुरु गर्न आवश्यक पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्था गरिएको छ। अस्पतालका अनुसार संखुवासभामा १ सय बढी मिर्गौला रोगी छन् । अस्पतालमा हाल ५ वटा डायलासिस मेसिन जडान गरिएको छ, दैनिक रूपमा धेरै बिरामीलाई सेवा दिन सक्ने क्षमता राख्ने अस्पतालका प्रमुख डा सन्तोष देवले बताए । 'यो सेवाको सुरुवातसँगै संखुवासभा मात्र नभई आसपासका जिल्लाका बिरामीहरूलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ,' उनले भने, 'सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्न विशेष ध्यान दिएका छौं ।'
अस्पतालका २ जना प्राविधिक, ४ जना तालिमप्राप्त नर्स तथा ३ जना चिकित्सकलाई डायलासिससम्बन्धी विशेष तालिम दिइएको उनले बताए । तालिम प्राप्त जनशक्तिले सेवा गुणस्तरीय र सुरक्षित रूपमा सञ्चालन गर्ने विश्वास अस्पताल प्रशासनको छ ।
सेवाको सुरु गर्न खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ भने चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।
जिल्ला अस्पतालले हेमोडायलासिस सेवा सुरु गरेसँगै अब मिर्गौला रोगीहरूले उपचारका लागि विराटनगर, धरान वा काठमाडौं जस्ता टाढाका शहर धाउनुपर्ने बाध्यता घट्ने खाँदबारी नगापालिकाका प्रमुख महेश थपलियाले बताए ।
