दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अन्य वडालगायत हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउँपालिकालगायतका ठाउँहरूमा पनि घरको छाना पुनर्निर्माण गर्ने काम भइरहेको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए ।
खोटाङ — श्रम संस्कृति पार्टी खोटाङ हावाहुरीले क्षति पुर्याएको घरको पुनर्निर्माणमा जुटेको छ । गत चैत २ गते हावाहुरीले क्षति पुर्याएको घरको पुनर्निर्माणमा पार्टीका सदस्य जुटेका हुन् ।
हावाहुरीले क्षतिग्रस्त भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका पदमबहादुर कटवालको घर पुनर्निर्माण गरेको छ । चैत ७ गते ३५ जनाको टोलीले घरको गाह्रो लगाएको र बाँकी छानाको काम सोमबार सम्पन्न गरेको श्रम संस्कृति पार्टी खोटाङका जिल्ला कमिटी सदस्य मणिराज राईले बताएका छन् । श्रमदानबाट घर पुनर्निर्माण गरिदिएपछि आफूलाई खुसी लागेको पदमबहादुर कटवालकी श्रीमती विमला कटवालले बताएकी छन् । ‘आधा रातमा छाना उडायो, छाना उडाएपछि बिचल्ली भएको थियो,’ कटवालले भनिन्,‘श्रमदाताहरूले बनाई दिनुभयो एकदमै खुसी लागेको छ ।’
त्यस्तै बाराहापोखरी गाउँपालिका-२ सुन्तलेका रामबहादुर राईको घरको छाना गत चैत २ गते हावाहुरीले उडाएर विचल्लीमा परेपछि उक्त घरको छाना चैत ६ गते पुनर्निर्माण गरेको हो । हावाहुरीले छाना उडाएर पाखामा फालिदिएको थियो । उडाएको जस्तापाता बटुलेर फेरि छाना लगाइएको छ । उडाएको घरको छानामा अपुग २ बन्डल जस्तापाता श्रमदाता ध्यानबहादुर राईले उपलब्ध गराएको श्रम संस्कृति पार्टी बराहपोखरी गाउँपालिका-६ मौवाबोटेका युवा कमिटी संयोजक उत्तम राईले बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अन्य वडालगायत हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउँपालिकालगायतका ठाउँहरूमा पनि घरको छाना पुनर्निर्माण गर्ने काम भइरहेको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए । ‘हामी श्रमदानबाटै हावाहुरीले उडाएको छाना पुनर्निर्माण गरिरहेका छौं, यसलाई निरन्तरता दिन्छौं,’राईले भने ।
